सुरुङ्गा झापा- गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ । २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरपालिकामा लगाइएको केराखेतीमा हुरी र वर्षाका कारण क्षति पुग्न गएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। झापा गाउँपालिका ३ र ६, बाह्रदशी गाउँपालिका ७ को बत्तीसबिघे क्षेत्र तथा कनकाइ नगरपालिका ५ मा व्यावसायिक केराखेती गरिँदै आएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार प्रभावित क्षेत्रमध्ये २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको छ । हुरीले केराका बोट ढालेपछि उत्पादनका लागि तयार भइसकेका बोटसमेत नष्ट हुँदा किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको छ ।
विष्टका अनुसार झापा गाउँपालिका ३ मा एक हेक्टर क्षेत्रफलमा गरिएको केराखेती पूर्णरूपमा नष्ट भएको छ । त्यहाँ २०.१ मेट्रिकटन उत्पादनमा क्षति पुगेको छ ।
सबैभन्दा बढी क्षति बाह्रदशी गाउँपालिका.७ को बत्तीसबिघे क्षेत्रमा भएको देखिएको छ । उक्त क्षेत्रमा २५.५ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती प्रभावित भएको छ भने ५१२.५५ मेट्रिकटन उत्पादनमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।
कनकाई नगरपालिका ५ मा दुई हेक्टर क्षेत्रफलमा गरिएको केराखेतीमा हुरीले क्षति पुर्याएको छ । त्यस क्षेत्रबाट उत्पादन हुने ४०.२ मेट्रिक टन केरा नष्ट भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
झापा गाउँपालिका ३ मा कृषक चन्द्र बस्नेत र पूजा खनालले १२ बिघा क्षेत्रफलमा लगाएको व्यावसायिक केराखेतीमा मात्रै करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।
केराखेतीमा भएको क्षतिले किसानहरू थप समस्यामा परेका छन् । अधिकांश किसानले बाली बीमा नगरेकाले क्षतिपूर्ति पाउने सम्भावना न्यून रहेको कृषि ज्ञान केन्द्रको भनाइ छ ।
आर्थिक वर्ष २०८२-८३ मा झापामा एक हजार ९१० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । उक्त क्षेत्रबाट तीन लाख ८८ हजार ३१०.२ मेट्रिक टन केरा उत्पादन भएको थियो ।




प्रतिक्रिया