काठमाण्डु–जसपा नेपालका नेता, मधेस प्रदेश सभाका सदस्य एवं पूर्वराज्यमन्त्री सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् ।
विकास आयोजनामा रकम विनियोजन गर्न घूस मागेको प्रकरणमा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । विशेषले गत ४ जेठमा भएको फैसलाको मंगलबार सजाय निर्धारण गरेको हो ।
विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुरप्रसाद कोइरालाको इजलासले कुशवाहालाई ४ वर्ष एक महिना कैद सजाय सुनाएको छ । यस्तै उनलाई ३८ लाख ५० हजार जरिवाना तोकिएको छ ।
कुशवाहाले बजेट विनियोजन गराइदिने भन्दै उपभोक्ताबाट बैंक खातामा डिपोजिट गर्न लगाएको ३८ लाख ५० हजार रुपैयाँ जफत गर्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेट मिलाई दिने भन्दै कूल बजेटको एक तिहाइसम्म घूस असुल्ने गरेको आरोपसहति कुशवाहाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
अभियोगपत्रमा कुशवाहाले आयोजनाको खातामा रकम जानेबित्तिकै एक तिहाई रकम लिने गरेको उल्लेख थियो ।
०७४ देखि ०८२ सालसम्म कुशवाहाले विकास आयोजनामा रकम राखिदिएर कमिशनबापत पाँच करोड रुपैयाँ लिएको आरोप लगाएको थियो ।
यस्तै उनलाई रकम बुझाउने ८ वटा उपभोक्ता समितिमाथि कारबाही र ७१ वटामाथि छानबिन हुनुपर्ने बताएको थियो ।
अख्तियारले कुशवाहासहित १६ जनाविरुद्ध ३० असोज २०८२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया