काठमाण्डु– एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गतको खेलमा नेपालले मलेसियालाई भारी अन्तरले हराएको छ ।
सिंगापुरमा भएको खेलमा नेपालले दिएको २७५ रन पछ्याएको मलेसियाले निर्धारित १९ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्र जोड्न सक्यो ।
मलसियाका लागि कप्तान सैयद अजिजले सर्वाधिक ५४ रन जोडे । यस्तै ओपनर मोहम्मद हजिक एमनले १३ र शर्विन मुनियान्डीले १८ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।
नेपालका लागि शेर मल्लले ३ विकेट लिए ।
यो जित सँगै नेपाली टोली समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।
यसअघि मलेसियाले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो ।
कुशल भुर्तेलले एक्लैले १२६ रन बनाए । यस्तै आसिफ शेख ६८ रन , दीपेन्द्र सिंह ऐरीले ३१ रन जोडे ।
मलेसियाका विरनदिप सिंहले ३ विकेट लिए। सयाद अजिज र विजय युन्नीले समान २ विकेट लिए।
कुशलले टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने नेपाली क्रिकेट बनेका छन्। कुशलले कप्तान दीपेन्द्र सिंह ऐरीको यसअघिको २२११ रनको कीर्तिमान तोडेका हुन्।




प्रतिक्रिया