देशभर २४ घण्टामा २५ विपद्का घटना, ५ जनाको मृत्यु र ११ जना घाइते

देशभर २४ घण्टामा २५ विपद्का घटना, ५ जनाको मृत्यु र ११ जना घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशका विभिन्न भागमा विगत २४ घण्टामा जेठ २० गते बिहान १०: ०० बजेदेखि २१ जेठ बिहान १०: ०० बजेसम्म विपद्का २५ वटा घटनाहरू घटेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन संख्या २१७२० अनुसार यी घटनाहरूमा परी ५ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। यस अवधिमा ६३ लाख ९० हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ। विपद्का मुख्य घटनाहरूको विवरण अनुसार सर्पदंशबाट ९४ जनाको मृत्यु, ९ जना घाइते भएका छन् ।

विगत २४ घण्टामा देशका विभिन्न जिल्लामा सर्पदंशका कारण ठुलो क्षति भएको छ । मृत्यु हुनेहरू रौतहट चन्द्रपुर न पा ६ की ७३ वर्षीया महिलालाई सर्पले डस्दा नारायणी अस्पताल पुर्‍याउने क्रममा चेकजाँच गर्दा मृत्यु भइसकेको थियो। त्यस्तै बारा पचरौता न पा ४ मकैबारीमा आमासँगै गएका १९ महिनाका बालकलाई सर्पले टोक्दा प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । कपिलवस्तु न पा १ की १६ वर्षीया बालिकालाई आफ्नै कोठामा सुतिरहेको अवस्थामा गोमन सर्पले टोक्दा उपचार केन्द्र लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।


त्यस्तै मोरङमा दुई जना २८ वर्षीया महिला र ६५ वर्षीय पुरुष सिरहामा ३४ वर्षीया महिला, पर्सामा ६० वर्षीय पुरुष, चितवनमा ३३ वर्षीया महिला, कपिलवस्तुमा ७ वर्षीया बालिका, दाङमा २६ वर्षीय पुरुषलाई करेत सर्पले टोकेको छ । पाल्पामा ५७ वर्षीय पुरुष र कञ्चनपुरमा दुई जना १७ वर्षीया बालिका र ५९ वर्षीय पुरुष सर्पदंशबाट घाइते भएका छन्। घाइतेहरूको स्थानीय तथा प्रादेशिक अस्पतालहरूमा उपचार भइरहेको छ।


यस्तै बाढीबाट २ जना बालकको मृत्यु भएको छ । रोल्पा गंगादेब गा पा ६ रातमाटास्थित वृद्धि विकास मा वि मा अध्ययनरत ६ र ७ वर्षका दुई जना बालकहरू स्कुलबाट घर फर्कने क्रममा स्थानीय खहरे खोलाको भेलमा परी बगाउँदा दुवैको मृत्यु भएको छ। घटना स्थलमा प्रहरी टोली खटिएको छ।


त्यसैगरी आगलागी र विद्युत सर्टका घटनाहरूदेशका विभिन्न स्थानमा विद्युत सर्ट र असावधानीका कारण आगलागी हुँदा लाखौँको क्षति हुनुका साथै एक जना घाइते भएका छन् । भक्तपुर लिवालीस्थित ख्वप्रिङ इङलिस एकेडेमीमा विद्युत सर्ट भई आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री र ट्रस पूर्ण रूपमा जलेर नष्ट भएको छ।


मकवानपुर सरनपुरस्थित एक किराना पसलमा विद्युत सर्ट भई आगलागी हुँदा ३ लाखको क्षति भएको छ भने आगो निभाउने क्रममा शरीर जलेर एक पुरुष घाइते भएका छन्, घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। काठमाडौँ बाफलस्थित एक सोफा फर्निचरमा आगलागी हुँदा १ लाख ४८ हजारको क्षति भएको छ भने नागार्जुनस्थित सशस्त्र प्रहरी हेडक्वार्टरको सवारी शाखामा रहेको इभी गाडीमा तार सर्ट हुँदा भवनसहित एउटा इभी कार र ३ वटा मोटरसाइकल जलेर क्षति भएको छ।
पाँचथरमा गाईको खोले पकाउने क्रममा आगलागी हुँदा २ लाख २२ हजार, बाँकेको कोहलपुरस्थित ज्ञानज्योति मा वि को चमेनागृहमा ग्यास लिक भई ९० हजार र बर्दियाको जालुराम फर्निचर उद्योगमा विद्युत सर्ट हुँदा ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कैलालीमा खेतको नल जलाउने क्रममा रुखहरूमा आगो सल्किएको छ।


ताप्लेजुङ्गमा अविरल वर्षासँगै आएको हावाहुरीले जिल्ला अस्पतालको जस्ताको ट्रष्ट उडाउनुका साथै उत्तिसको रुख ढल्दा ३ लाख ३० हजार बराबरको क्षति भएको छ। सल्यान कुमाख गा पा ७ स्थित जनता आधारभूत विद्यालयको शौचालयको जस्तापाता हावाहुरीले उडाएको छ। रोल्पामा अविरल वर्षाका कारण परिवर्तन गा पा १ बाडमा माथिबाट पहिरो खस्दा घोराही थवाङ सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ र सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ।


प्राधिकरणले विपद्का घटना र सुरक्षा सन्देशका लागि आफ्ना आधिकारिक सामाजिक सञ्जालहरू ट्विटर, फेसबुक, युट्युब मार्फत जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।