काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा छानबिन भइरहेका बेला उनलाई पदबाट निलम्बन गरिएको हो ।
समितिको बिहीबार बसेको बैठकले यादवलाई निलम्बन गर्नुका साथै अन्य ४ जना नेताहरूको उजुरीमाथि स्पष्टीकरण र छानबिनपछि निर्देशन तथा सफाइ दिने निर्णय समेत गरेको छ ।
केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकले निलम्बन, निर्देशन र सफाइ सम्बन्धी निर्णयहरू गरेको समितिका सचिव दिनेश थापामगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बारा जिल्ला सभापति राजेश राय यादवमाथि चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको उजुरी परेपछि समितिले पहिलोपटक गत वैशाख ३० गते ५ दिने स्पष्टीकरण सोधेको थियो । तोकिएको समयभित्र जवाफ नदिएपछि पुन: जेठ १२ गते ३ दिनको समय दिएर स्पष्टीकरण माग गरिएकोमा दोस्रोपटक पनि उनले कुनै जवाफ दिएनन् ।
स्पष्टीकरणको उपेक्षा गरेपछि समितिले यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नुपर्ने ठहर गरेको छ । यादव पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि उनलाई जिल्ला सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गरिएको छ ।
यसैगरी, पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएका बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) लाई समितिले सफाइ दिएको छ । वैशाख १६ गते सोधिएको स्पष्टीकरणको जवाफ राउतले जेठ १० गते पेस गरेका थिए । समितिले मिसिल संलग्न कागजात अध्ययन र थप जाँचबुझ गर्दा राउतको जवाफ सन्तोषजनक देखिएकाले उनलाई आरोपबाट सफाइ दिने निर्णय गरेको हो ।
बैठकले सर्लाही जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर २ का ३ जना प्रदेश सभा सदस्यहरूलाई सचेत गराउँदै पदीय जिम्मेवारी अनुसार कार्य गर्न निर्देशन दिएको छ । २०८२ फागुनको निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका प्रदेशसभा सदस्यहरू सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूमाथि लागेका आरोपहरू निराधार र असत्य रहेको भन्दै गत वैशाख २१ गते स्पष्टीकरण बुझाएका थिए ।
उनीहरूको स्पष्टीकरणपछि समितिले आगामी दिनमा कुनै गुनासो नआउने गरी सजगताका साथ पार्टीको विधान र नियमावलीप्रति पूर्ण प्रतिबद्ध रही दत्तचित्तका साथ काम गर्न तीनै जना प्रदेशसभा सदस्यहरूलाई निर्देशन दिएको छ ।






प्रतिक्रिया