काठमाण्डु – नेपालका लागि बीवाईडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि ठूलो संख्यामा विद्युतीय सवारीसाधन आयात गरिएको सम्बन्धमा उब्जिएका प्रश्नहरूको स्पष्टीकरण दिएको छ ।
विभिन्न सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा भइरहेका चर्चाप्रति ध्यानाकर्षण भएको जनाउँदै कम्पनीले सबै आयात प्रक्रिया प्रचलित कानुन, भन्सार नियमावली र पारदर्शी व्यावसायिक पद्धतिअनुसार नै सम्पन्न भएको दाबी गरेको छ ।
साइमेक्स इन्कले सार्वजनिक गरेको आयातको आधिकारिक तथ्यांकअनुसार मे महिनाको मध्यदेखि अन्त्यसम्ममा २ प्रमुख नाकाहरूबाट गाडीहरू नेपाल भित्रिएका छन् । मुस्ताङको कोराला नाकाबाट २२ देखि २७ मेसम्ममा ६४९ वटा एट्टो–१ र एट्टो–२ मोडलका सवारीसाधन भन्सार जाँचपास भएका छन् । रसुवा नाकाबाट १८ देखि २७ मेसम्ममा एट्टो–१, एट्टो–२, एट्टो–३ र सिलियन–७ गरी कुल ४७२ वटा सवारीसाधन आयात गरिएका छन् ।
चीनतर्फ रोकिएका सवारीसाधन २२६ वटा चिनियाँ भन्सार क्षेत्रमा आइपुगेका भए पनि हालसम्म तिनको जाँचपास प्रक्रिया सुरु नभएको कम्पनीले प्रस्ट पारेको छ ।
सरकारी निकायसँगको मिलेमतोमा कर परिवर्तनबाट बच्न गाडीहरू हतारहतार भित्र्याइएको भन्ने आरोपलाई कम्पनीले पूर्णत: निराधार र असत्य भनेको छ । सिमेक्स इन्कले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको र त्यस्तो कुनै अनुरोध समेत नगरेको स्पष्ट पारेको छ ।
‘कर परिवर्तनबाट बच्न खोजेको भन्ने आरोप कम्पनीको प्रतिष्ठामा आघात पुर्याउने खालका छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सबै गतिविधिहरू नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन र ढुवानी तालिकामा आधारित छन् ।’
कम्पनीका अनुसार ग्राहकबाट पहिले नै भइसकेको बूकिङ सुनिश्चित गर्न र नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्न गाडीहरू आयात गरिएका हुन् । बीवाईडीको उत्पादन तालिका, ढुवानीको उपलब्धता र नियमित व्यावसायिक योजनाअनुसार नै आयातका कार्यहरू सम्पन्न भएको कम्पनीको जिकिर छ ।
साइमेक्स इन्कले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाउँदै सत्यतथ्य स्थापित गर्न आवश्यक पर्ने आयात रेकर्ड, भन्सार घोषणा, भुक्तानी विवरण र ढुवानी अभिलेख जस्ता सम्पूर्ण कागजातहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।
आधिकारिक पुष्टि विना भ्रम सिर्जना हुने गरी समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गर्दै कम्पनीले नेपालको वातावरणीय लक्ष्य प्राप्ति र दिगो यातायातको पहुँच विस्तारमा आफूहरू निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।




प्रतिक्रिया