कास्की – नेपाली क्रिकेटमा नयाँ पुस्ताका प्रतिभा खोज्ने लक्ष्यसहित गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप भोलि शुक्रबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुरु हुँदैछ ।
गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगिताले विद्यालय तहबाट क्रिकेटको जग बलियो बनाउने, ग्रामीण तथा जिल्लास्तरमा लुकेका प्रतिभालाई राष्ट्रिय मञ्चसम्म पुर्याउने र भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका उत्कृष्ट विद्यालय टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजक गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । उनका अनुसार जिल्ला स्तरीय छनोट प्रतियोगिताको विजेता विद्यालय मात्र प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कुल, नवलपुरबाट भिमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मङ्गलोदय माध्यमिक विद्यालय प्रतियोगितामा सहभागी हुँदैछन् ।
यस वर्ष प्रतियोगितामा थप विशेष अवसरस्वरूप सहभागी विद्यालय टोलीसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त ४ उत्कृष्ट खेलाडीलाई पनि टोलीमा समावेश गरिने छ । यस व्यवस्थाले विद्यालय टोलीमा नपरेका तर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत प्रदेशस्तरीय प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिने विश्वास गरिएको अध्यक्ष सिग्देलले बताए ।
प्रतियोगिताका लिग चरणका खेल जेठ २२, २३ र २४ गते सञ्चालन हुनेछन् भने उपाधिका लागि जेठ २५ गते प्रतिस्पर्धा हुनेछ । पहिलो खेल शुक्रबार बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेता टोलीले आगामी असार पहिलो हप्तादेखि काठमाण्डुमा आयोजना हुने राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिपमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट ४ खेलाडीले पनि विजेता विद्यालयको टोलीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा १० कक्षासम्म अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरिसकेका तर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीलाई समेत खेल्न अनुमति दिइएको आयोजकले जनाएको छ ।
नेपालमा पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको आकर्षण तीव्र रूपमा बढिरहेका बेला विद्यालयस्तरबाटै व्यवस्थित प्रतिस्पर्धा सञ्चालन हुनुले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको जनाइएको छ ।




प्रतिक्रिया