बालेनलाई सुशीला कार्कीको सुझावः विपक्षीलाई समाप्त पार्छु भन्ने मानसिकता त्याग

बालेनलाई सुशीला कार्कीको सुझावः विपक्षीलाई समाप्त पार्छु भन्ने मानसिकता त्याग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले विपक्षीलाई समाप्त पार्ने मानसिकताबाट पछि हट्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सुझाव दिएकी छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले जनताको अभिमत अहंकारका लागि नभएको बताइन् ।
विगतका अनुभव र इतिहासबाट सिकेर अघि बढ्न उनको सुझाव थियो । ‘आफू सत्तामा छु भन्दैमा विपक्षीलाई समाप्त पार्ने मानसिकता राख्न मिल्दैन’, उनले भनिन् ।

मुलुक सञ्चालनमा अनुभव, सहिष्णुता र राजनीतिक परिपक्वता चाहिने कार्कीले उल्लेख गरिन् । कार्कीले ३७ वर्षका प्रधानमन्त्री शाहले आफू पनि कुनै दिन उमेरले पाको हुन्छु भन्ने सोच्नुपर्ने बताइन् ।

‘अहिले ३७ वर्षका प्रधानमन्त्री र युवा नेताहरू आएका छन् । उनीहरूले अघिल्ला अनुभवलाई मनन गर्नुपर्छ, इतिहासबाट सिक्नुपर्छ,’ कार्कीले भनिन्, ‘उनीहरू पनि एक दिन त्यही चरणमा पुग्छन् । पार्टीका नेता सधैं युवा भएर बस्दैनन् ।’

अर्को एक प्रसंगमा उनले सरकारको आलोचना गर्नु प्रतिपक्षको राजनीतिक धर्म र दायित्व भए पनि त्यसको उद्देश्य सरकार असफल बनाउने नभई सुधारको बाटो देखाउने हुनुपर्नेमा जोड दिइन् ।


जनमत प्राप्त सरकारको खुट्टा तान्ने काममा नलाग्न विपक्षी दलहरुलाई कार्कीको सुझाव थियो ।