३५ वर्षमा सात पटक फुट्यो राप्रपा

३५ वर्षमा सात पटक फुट्यो राप्रपा

यस्तो छ फुटको श्रृंखला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रूपमा विभाजित भएको छ ।

महामन्त्री धवलशमशेर राणाले पार्टीबाट अलग भएको घोषणा गर्दै नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।

बिहीबार राणाको नेतृत्वमा रहेका वरिष्ठ नेताहरूले पार्टी परित्याग गर्ने घोषणा गर्दै नयाँ राजनीतिक दल गठन गर्ने योजना सार्वजनिक गरेका हुन् ।

पछिल्लो विभाजन राप्रपाको ३५ वर्षको इतिहासमा सातौँ हो । यो विभाजन राणा र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनबीच वर्षौँदेखि चल्दै आएको आन्तरिक द्वन्द्वको परिणाम मानिएको छ । मुख्यधारका राजनीतिक दलप्रति जनअसन्तुष्टि बढिरहेका बेला राजावादी शक्तिहरू पुनर्गठनको प्रयासमा रहेका समयमा यो विभाजनले राजावादी राजनीतिक धारलाई नयाँ ढङ्गले प्रभावित गर्ने जनाइएको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा राणाले आफू र उनका समर्थकहरूले राप्रपा छोड्ने निर्णय गरेको बताए । उनका अनुसार पार्टीभित्र रहेर आफ्ना राजनीतिक आदर्श र लक्ष्य पूरा गर्न नसकिने निष्कर्षमा पुगेपछि यस्तो निर्णय गरिएको हो ।

उनले राप्रपालाई मर्मत गर्न नसकिने गरी जीर्ण बनेको घर वा सवारी साधनसँग तुलना गर्दै नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याए ।

राणाले राष्ट्रवादी र राजावादी शक्तिहरूलाई एकताबद्ध गर्दै छिट्टै नयाँ राजनीतिक दल गठन गरिने पनि बताए ।

‘हामी नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्छौँ। यो दलले राजासहितको लोकतन्त्रको पक्ष लिनेछ र राजावादी, राष्ट्रवादी, हिन्दूवादी समूह, संस्था तथा व्यक्तिहरूलाई एउटै बृहत् मञ्चमा ल्याउने प्रयास गर्नेछ,’ उनले भने ।

विभाजन प्रक्रियामा संलग्न नेताहरूका अनुसार वरिष्ठ नेता, केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीसहित १८३ जनाले राप्रपाबाट राजीनामा दिएका छन् ।

यद्यपि अध्यक्ष लिङ्देनले राप्रपा औपचारिक रूपमा विभाजित भएको दाबी अस्वीकार गरेका छन् । ‘पार्टी विभाजन हुन केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा कम्तीमा ४० प्रतिशत समर्थन आवश्यक पर्छ,” लिङ्देनले भने, ‘धवलजी र उहाँका साथीहरूले स्वेच्छाले पार्टी छोड्नुभएको हो ।’

लिङ्देनले राणा पक्षले पार्टीको हितविपरीत काम गरेको आरोप लगाए । राणा र लिङ्देन पक्षबीचको विवाद झन्डै चार वर्षदेखि चलिरहेको थियो । पार्टीभित्रका नेताहरूका अनुसार राणा सक्रिय राजनीतिक भूमिकासहितको राजतन्त्रको पक्षमा थिए भने राप्रपाको आधिकारिक नीति संवैधानिक राजतन्त्रको समर्थन गर्ने रहेको छ ।

लिङ्देन पक्षले राणालाई पार्टी संरचना कमजोर बनाएको र आधिकारिक नीतिविपरीत काम गरेको आरोप लगाउँदै आएको थियो ।

उता राणा पक्षले भने अध्यक्ष लिङ्देनमाथि पार्टीलाई अधिनायकवादी शैलीमा सञ्चालन गरेको र फरक मत राख्नेहरूलाई अनुशासनको नाममा दबाउने प्रयास गरेको आरोप लगाएको छ ।

विवादको पछिल्लो शृङ्खला गत फागुनमा देखिएको थियो, जब राणाको नेतृत्वमा भएको भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको थियो । राणा समूहले निष्पक्ष आयोजक समिति गठन, महाधिवेशनको मिति घोषणा तथा पार्टी नियम उल्लंघनसम्बन्धी घटनाको छानबिन गर्न माग गर्दै तीनबुँदे ज्ञापनपत्र अध्यक्ष लिङ्देनलाई बुझाएको थियो ।

तर संस्थापन पक्षले ती माग अस्वीकार गरेको थियो । राप्रपाले अब असार २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ, जसले महाधिवेशनको मिति तय गर्नेछ ।

यो विवाद पटक–पटक सार्वजनिक रूपमा पनि देखिएको थियो । गत वर्ष साउनमा पार्टीको युवा संगठनको काठमाण्डु जिल्ला अधिवेशन सुरु हुनुअघि नै दुई पक्षका समर्थकबीच झडप भएको थियो । त्यसअघि २०८१ असोजमा लिङ्देनले राणालाई संगठन विभाग प्रमुखबाट हटाएर बुद्धिमान तामाङलाई नियुक्त गरेका थिए, जसले मतभेदलाई अझ गहिरो बनाएको थियो ।

२०८१ चैतमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डु फर्किएपछि तनाव झन् बढेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाहको स्वागत गर्ने विषयमा देखिएको प्रतिस्पर्धाले राजावादी नेताहरूबीचको अन्तरविरोधलाई सतहमा ल्याएको थियो । उक्त कार्यक्रममा राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नवराज सुवेदी तथा दुर्गा प्रसाईंको सक्रिय उपस्थितिले राप्रपाभित्रको तनाव थप चर्काएको थियो ।

यो विभाजन राजावादी समूहहरूले राजतन्त्र पुनस्र्थापनाको अभियान चलाएको केही महिनापछि भएको हो । तर गत वर्ष काठमाण्डुको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि आन्दोलनको गति कमजोर भएको थियो र राजावादी शक्तिहरूभित्रको विभाजन पनि उजागर भएको थियो ।

पटक-पटक विभाजन

राप्रपाको इतिहास नै पटक–पटकको विभाजनले भरिएको छ । संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र उदार अर्थतन्त्रको सिद्धान्तमा आधारित रहेर २०४७ सालमा पार्टी गठन भएको थियो ।

तर अन्तिम चरणमा नेतृत्वको विषयमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबिच विवाद उत्पन्न भएपछि २०४७ जेठ १५ गते राप्रपा(चन्द) र राप्रपा(थापा) समूह गरी एकै विचारधाराका दुई पार्टीको जन्म भयो ।

जन्मिँदै विभाजित भएको राप्रपाले २०८१ सालको अन्त्यतिर आइपुग्दा फुट र जुटको शृङ्खला झेलिसकेको छ । पार्टीभित्रको स्वार्थ समूह, नेतृत्व र राजकीय पद हत्याउन गरिएको राजनीतिक दाउपेच तथा खिचातानीका कारण राप्रपा ३५ वर्षमा ७ पटकभन्दा बढी विभाजन र एकताको शृङ्खलाबाट गुज्रिएको छ ।

पार्टीभित्र चन्द र थापा समूहबिच विवाद बढ्दै गएपछि दोस्रोपटक २०४८ सालमा पार्टी विभाजन भयो । तर २०५७ सालमा आएर फेरि पार्टी एकीकृत भयो ।

त्यसपछि २०६२ पुसमा कमल थापाले पार्टी विभाजन गरी राप्रपा नेपाल गठन गरे । सूर्यबहादुर थापाले पनि राप्रपाबाट अलग भएर राष्ट्रिय जनशक्ति पार्टी गठन गरे ।

निर्वाचनमा पराजयपछि राप्रपा र राजपाबिच २०७० मा एकता भयो र एकीकृत पार्टीको नाम राप्रपा नै रह्यो । सरकारमा सहभागी हुने विषयमा मतभेद भएपछि राप्रपा फेरि विभाजन भयो । पशुपति शमशेर राणाले २०७४ मा राप्रपा प्रजातान्त्रिक गठन गरे ।

२०७६ फागुनमा राप्रपाका तीन घटकबीच फेरि एकता भयो । तर २०७८ मंसिर १९ गते कमल थापा राप्रपाबाट अलग भइ राप्रपा नेपाल गठन गरे २०८२ पुसमा थापाले पुनः राप्रपा नेपाल ब्युँताएका थिए ।