काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबिच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार प्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ ३ जना गरी प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ १२ जना गरी प्रहरी उपरीक्षक पदमा १३ जना, प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १६ जना र प्राविधिक प्रहरी निरीक्षक पदमा १४ जना गरी कुल ४७ जनामध्ये ४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका हुन् ।
पदोन्नति भएकामध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरू हाल तालिमको सिलसिलामा कोरियामा रहेका छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । आफ्नो कार्यक्षेत्रमा प्रदर्शित लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्यांकनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीमा अझ बढि सिर्जनशील, थप जवाफदेही र संवेदनशील भई कार्यसम्पदान गर्न दर्ज्यानी चिह्नबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक कार्कीले शान्ति सुव्यवस्था कायम गर्ने एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने नेपाल प्रहरीको मुल दायित्वमा जनपद तथा प्राविधिक समूहको उत्तिकै महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट संगठनले सकारात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरेको बताए । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा पनि बढ्दै जाने हुनाले त्यसतर्फ सचेत भई काम गर्नुपर्ने उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठानिक मूल्य मान्यतालाई प्राथमिकतामा राखेर संगठनको श्रीवृद्धि हुने गरी दायित्व बहन गर्न उनले निर्देशन दिए ।

परिवर्तित परिस्थितिसँगै थप चुनौती र प्रहरीसँग नागरिकको अपेक्षा पनि बढिरहेको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र जनउत्तरदायी भई राज्यको असल प्रतिनिधिका रूपमा सांगठनिक छवि बढाउँदै कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए ।
सो अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण समर्पित भई संगठनको लक्ष्य प्राप्तीमा अझ उत्कृष्ट ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको समेत उपस्थिति रहेको थियो ।




प्रतिक्रिया