अण्डाको मूल्य फेरि बढ्यो, अब एउटाकै २५ रुपैयाँ

अण्डाको मूल्य फेरि बढ्यो, अब एउटाकै २५ रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अण्डाको मूल्य फेरि बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले शनिबारदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डाको ५४५, मध्यम अण्डाको ५१५ तथा सानो अण्डाको प्रतिपेटी तीन हजार कायम गरिएको छ। यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ भएको छ।

अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताए।

पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको देखिन्छ। वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रहेकामा नयाँ मूल्य ५६० पुगेको छ, जुन ९५ अर्थात् करिब २० प्रतिशतले बढी हो।

सोही अवधिमा ठूलो अण्डाको मूल्य ४९० बाट ५४५, मिडियम अण्डाको ४०० बाट ५१५ तथा सानो अण्डाको प्रतिपेटी मूल्य २ हजार ३०० बाट तीन हजार पुगेको छ।

संघका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ दशमलव १२ पर्ने गरेको छ। नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेका छन्। लामो समयपछि अण्डाको बिक्री मूल्य उत्पादन लागतको हाराहारीमा पुगेकाले किसानलाई केही राहत मिलेको अध्यक्ष पोखरेलको भनाइ छ।

उनले पछिल्लो समय नेपालमा पर्यटकको आगमन बढ्नु, सीमा क्षेत्रमा अण्डाको आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुलेसमेत अण्डाको मूल्य सुधारमा सहयोग पुगेको बताए।