७७५ गाडी भन्सार छली प्रकरण : छानबिन टोली मुस्ताङमा, प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

७७५ गाडी भन्सार छली प्रकरण : छानबिन टोली मुस्ताङमा, प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनको कोरलानाकाबाट भित्रिएका ७७५ वटा वीवाइडी विद्युतीय सवारीसाधनमा भन्सार छली भएको भन्ने विषयमा छानबिन गर्न अर्थमन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ।

भन्सार विभागका निर्देशक भूपालराज शाक्यको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान सुरु गरेको हो।

टोलीले पोखराको हेम्जामा ९८ वटा, पर्वतको कुश्मामा १७ वटा र मुस्ताङको जोमसोम बसपार्कमा पार्किङ गरी राखिएका २६६ वटा विद्युतीय सवारीसाधनको स्थलगत अनुगमन गरिसकेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालले जानकारी दिए।

गत भदौदेखि सञ्चालनमा आएको कोरलानाकाबाट जेठको दोस्रो साता चिनियाँ कम्पनी बीवाईडीका ७७५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए, जसमध्ये ६४९ वटाको भन्सार जाँचपास भइसकेको छ। विद्युतीय सवारीसाधन आयातमा भएको गढबढीबारे प्रधानमन्त्री कार्यालयले समेत चासो लिएको छ।

यसबीच यस विषयमा कर्मचारीलाई जिम्मेवारीबाट पनि मुक्त गरिएको छ । घटनाको थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले गरेको सिफारिसअनुसार थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।