दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भाजपा नेता चौथाईवाबीच भेटघाट

दिल्लीमा परराष्ट्रमन्त्री खनाल र भाजपा नेता चौथाईवाबीच भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन्।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार भेटघाटका क्रममा उनीहरूबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने, पार्टी–पार्टीबिचको संलग्नतालाई गहिरो बनाउने र जनता–जनताबिचको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ।

भेटपछि परराष्ट्रमन्त्री खनालले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै चौथाईवालेसँग भेट्न पाउँदा खुसी लागेको र दुई देशबिचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे फलदायी छलफल भएको बताएका छन्।

यस्तै, भाजपा नेता चौथाईवालेले पनि एक्समा लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सफल भारत भ्रमणपछि उनी नेपाल फर्किएको र सोही समयमा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली आइपुगेको उल्लेख गरेका छन्।

उनले खनाललाई स्वागत गर्दै भनेका छन्, ‘हामीले दुई पार्टीहरू र जनता-जनताबिचको सम्बन्धलाई थप सुदृढ पार्न विभिन्न चरणहरूमा छलफल गर्‍यौँ।’

परराष्ट्रमन्त्री खनाल भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणमा छन्। उनले समकक्षी जयशंकरसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ।

परराष्ट्रमन्त्री खनालले शुक्रबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए भने इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका थिए ।