काठमाण्डु – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबिच भेटवार्ता भएको छ ।
विदेशमन्त्री जयशंकरको निमन्त्रणामा २ दिने भ्रमणका लागि परराष्ट्रमन्त्री खनाल शुक्रबार दिल्ली पुगेका हुन् । खनाल परराष्ट्रमन्त्री भएपछि यसपालि पहिलो औपचारिक भ्रमण भएको छ ।
दुवै देशका प्रतिनिधिमण्डलबिच शनिबार साँझ नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेशमन्त्री डा. जयशंकरले भेटवार्ताको भिडियो सामाजिक सञ्जालमार्फत शेयर गर्दै नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेको जनाएका छन् ।
वार्तामा स्टार्टअप, कृत्रिम बुद्धिमत्ता (एआई), सूचना प्रविधि तथा नवीकरणीय ऊर्जा लगायतका नयाँ क्षेत्रमा नेपाल र भारतबिच सहकार्य विस्तार गर्ने पर्याप्त अवसर रहेको भारतीय विदेशमन्त्री डा. एस जयशंकरले जनाएका छन् ।
द्विपक्षीय भेटवार्ताको सुरुवातमा मन्तव्य राख्दै उनले भने, ‘हामीसँग स्टार्टअप, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा लगायतका नयाँ क्षेत्रमा सहकार्यलाई अझ अगाडि बढाउने अवसर छ । हाम्रो लामो र विशिष्ट खुला सीमामा सुरक्षा कायम राख्न पनि हामी मिलेर काम गरिरहेका छौं ।’
नेपाल–भारत सम्बन्ध सीमापार कनेक्टिभिटी, ऐतिहासिक निकटता तथा साझा सांस्कृतिक र धार्मिक परम्परामाथि आधारित रहेको उल्लेख गर्दै उनले २ देशको साझा प्रगति, समृद्धि र जनकल्याणका लागि भारत नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गतेसम्म भारत भ्रमणमा रहने कार्यक्रम छ ।




प्रतिक्रिया