काठमाण्डु – मध्यपुरथिमिको संस्कृति र सम्पदाको संरक्षणका लागि शनिबारदेखि ‘चित्रकलामा मध्यपुरका सम्पदाहरू’ कार्यक्रम सुरु भएको छ ।
मध्यपुरथिमि नगरपालिका–८ बोडेको आयोजना तथा एमेजिङ आर्ट एण्ड ट्रेनिङ सेन्टरको संयोजनमा कार्यक्रम सुरु भएको हो ।
शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानको सहकार्यमा एक समारोहबिच कार्यक्रमको सुरुआत गरिएको छ ।
यहाँका सम्पदालाई २५ जना कलाकारले चित्रमा उतार्दैछन् । वडाध्यक्ष रमेश थापा श्रेष्ठले यस्ता चित्रले पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गरी हराएका सम्पदा पुनर्निर्माणका लागि सहयोग पुग्ने बताए । उनले भने, ‘यहाँका भौतिक र अभौतिक सम्पदा, १००–२०० वर्षअघि बनाएको यो बस्ती निकै सुन्दर र व्यवस्थित छन् । ठाउँ ठाउँमा पार्टी, मन्दिर छन् । खुला स्थान बनाइएको छ । आर्किटेक्टका रूपमा हेर्दा राम्रो छ । यति सुन्दर क्षेत्रलाई पर्यटकीय रूपमा अघि बढाउनुपर्छ भनेर लागेका छौँ ।’
वडाध्यक्ष श्रेष्ठले चित्रलाई बुकलेटका रूपमा प्रचारप्रसार गर्न उपयोग गरिने र संग्रहालयमा राख्ने सोच रहेको बताए ।
कार्यक्रमका संयोजक जुजुभाई बाँस श्रेष्ठले चित्रमार्फत मध्यपुर थिमिका संस्कृति र सम्पदाको संरक्षण गर्ने उद्देश्य रहेको बताए । उनले १०० वर्षपछि चित्र हेरेर पुरानो सम्पदा यस्तो रहेछ भन्ने थाहा पाइने र सोहीअनुसार सम्पदा निर्माण गर्न यसको महत्त्व रहेको बताए ।
शनिबारीय स्थलगत चित्रकला कार्यशाला अभियानका सचिव दिवेश प्रधानले कार्यक्रममा २५ जना कलाकार सहभागी भएको जानकारी दिए । उनका अनुसार बोडेका ७, नगदेशका १ र थिमिका १२ गरी २० सम्पदा क्षेत्र र ५ वटा अभौतिक सम्पदा नाच तथा जात्राबारे चित्र सिर्जना हुनेछन् । ती चित्र संग्रहालयमा राख्न सकिने र पुस्तकका रूपमा समेत संरक्षण गर्न सकिने उनले बताए ।
कलाकारले चित्रमार्फत दस्तावेजीकरणको भूमिका खेल्न सक्ने भएकाले विगत ८ वर्षदेखि अभियान जारी रहेको जनाइएको छ । चित्र निर्माण भएपछि अर्काे शनिबार यहाँ चित्रकला प्रदर्शनी हुनेछ ।
वडा नम्बर ८ का सचिव रञ्जन प्रजापतिले मध्यपुर कला संस्कृतिको धनी भए पनि दस्तावेजीकरण हुन नसकेकाले कलाकारको सहयोगमा चित्रमार्फत संरक्षण प्रयास थालिएको बताए ।




प्रतिक्रिया