काठमाण्डु– राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति पुष्टि गर्ने भए हस्ताक्षर गरेर देखाउन चुनौती दिएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा उत्रिएका रास्वपा सांसदहरुलाई नेपालले भारतको भूमि मिचेको हो भन्ने विषयमा हस्ताक्षर गरेर देखाउन भनिन् । अन्यथा प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याएर माफी माग्नुपर्ने सर्त उनले राखिन् ।
आमनागरिकको नजरबाट प्रतिपक्षले लामो समयदेखि संसद अवरुद्ध गरेको देखिएता पनि वास्तविकता भने फरक रहेको तर्क ओलीको छ ।
‘असार १९देखि सदन अवरुद्ध छ । बाहिर आमनागरिकले देख्दा प्रतिपक्षीले सदन अवरुद्ध गरेको जस्तो देखिन्छ । तर, के वास्तविकता यो हो त ? आज म सदनमा एउटा प्रस्ताव राख्न चाहन्छु । यो सदन खुलाउने एउटा मात्रै उपाय छ, कि त यस सदनले हस्ताक्षरसहित भन्नुप-यो । नेपालले भारतको भ–ूभाग मिचेको हो भनेर सदनले स्वीकार गर्नुप-यो । किनकी जुन किसिमको अवरोध, अवरोध, अवरोधको संज्ञा प्रतिपक्षलाई दिइराखिएको छ । जो सत्तापक्षीयहरु हुनुहुन्छ, उहाँहरु त प्रधानमन्त्रीले दिएको वक्तव्यमा सहमति जनाउनुहुन्छ । यदि त्यस्तो हो भने हस्तक्षर सत्तापक्षबाट सुरु गरौं । प्रधानमन्त्रीले भनेअनुसार नेपालले भारतको सीमा मिचेको हो भन्ने कुरामा हामी प्रतिपक्ष पनि सही गरेर सदनको अवरोध हटाउन तयार हुन्छौं ।’
अन्यथा प्रधानमन्त्री शाहले आफ्नो भनाइलाई स्पष्ट गर्ने वा व्याख्यालाई सच्याउनुपर्ने मागबाट आफूहरु पछि हट्न नसक्ने उनले बताइन् ।
कर्मचारीले आफूलाई पठाएको म्यासेजलाई राष्ट्रिय मुद्धा बनाउने तथा सामाजिक सञ्जालमा खिसिट्युरी र बुलिङ गर्ने प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन नसक्नुको कारण उनले माग गरिन् ।
ओलीले महत्वपूर्ण राष्ट्रिय बहसलाई प्रधानमन्त्री शाहले विषयान्तर गर्ने गरेको आरोप पनि लगाइन् ।




प्रतिक्रिया