भारतीय आँपमा नेपाल र जापानले लगायो प्रतिबन्ध

भारतीय आँपमा नेपाल र जापानले लगायो प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतबाट आयात हुने आँपमा अत्यधिक मात्रामा रासायनिक विषादी फेला परेपछि नेपाल र जापानले भारतीय आँपको आयातमा प्रतिबन्ध लगाएको छ ।

नेपालको सीमास्थित क्वारेन्टाइन निरीक्षकहरूले आयातित आँपमा विषादीको मात्रा अत्यधिक रहेको पत्ता लगाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतीय आँपको आयातमा प्रतिबन्ध लगाएको हो ।

नेपाली अधिकारीहरूले यो निर्णयलाई स्वदेशी फलफूल उत्पादनका लागि लाभदायक कदमका रूपमा प्रस्तुत गरेका छन् ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता मनीषकुमार पालले यस प्रतिबन्धले स्थानीय रूपमा उत्पादन गरिएका स्वस्थ फलफूलका लागि थप अवसर सिर्जना गरेको बताए ।

उनले भने, ‘संघीय सरकारको यो निर्णयले स्थानीय उत्पादनलाई थप प्रोत्साहन मिल्नेछ । साथै नागरिकहरूले अझ स्वस्थ र सुरक्षित फलफूल उपभोग गर्न पाउनेछन् ।’

तर, नेपालका आँप व्यवसायीहरू भने यस निर्णयले बजारमा अभाव, मूल्यवृद्धि तथा ठूलो आर्थिक क्षति निम्त्याउन सक्ने भन्दै चिन्तित छन् ।

नेपाल आँप उत्पादन गर्ने तथा आयातभन्दा बढी निर्यात गर्ने देश भए पनि आन्तरिक उत्पादनले घरेलु माग पूरा गर्न सक्दैन । त्यसमाथि नेपाली आँपको मौसम केवल करिब दुई महिनासम्म मात्र रहने गर्छ ।

फलफूल व्यवसायीहरूले भारतीय फलफूलमा पूर्ण प्रतिबन्ध लगाउनुको सट्टा कडा क्वारेन्टाइन प्रणाली लागू गर्नुपर्ने माग गरेका छन् ।

भारतबाट आँप आयात गर्ने प्रमुख पाँच देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, नेदरल्यान्ड्स र साउदी अरेबिया छन् ।

भारतको सबैभन्दा ठूलो बजारमध्ये नेपाल नपरे पनि भारतीय आँपमा अत्यधिक विषादी भेटिनुले त्यहाँको फलफूल उत्पादन प्रणालीबारे प्रश्न उठाएको छ ।

यो प्रतिबन्ध भारतको कोकण क्षेत्रमा अल्फोन्सो आँप किसानहरूले कठिन मौसमको सामना गरिरहेका बेला आएको हो ।

ढिलो वर्षा र अत्यधिक गर्मीका कारण किसानहरूले ९० प्रतिशतसम्म उत्पादन क्षति व्यहोरेको बताइएको छ । नेपालजस्तै जापानले पनि भारतीय आँपको आयातमा प्रतिबन्ध लगाएको छ ।

गत महिना जापानले भारतका केसर, अल्फोन्सो, लङ्ग्रा र बंैगनपल्ली जातका आँपमा २० वर्षयताकै पहिलोपटक प्रतिबन्ध लगाएको छ ।

भारतीय प्रशोधन केन्द्रहरूमा निरीक्षणका क्रममा उत्पादन प्रक्रियामा अनियमितता भेटिएपछि जापानले यस्तो निर्णय गरेको हो ।

मार्च महिनामा जापानी क्वारेन्टाइन अधिकारीहरूको टोलीले भारतको उत्तर प्रदेशस्थित रहमानपुर क्षेत्रमा निरीक्षण गर्दा धुवाँद्वारा कीटाणुनाश (फ्युमिगेसन) तथा सम्बन्धित सरसफाइ प्रक्रियामा कमजोरीहरू फेला पारेको थियो ।

क्वारेन्टाइन योजनामा सहयोग गर्ने सार्वजनिक हितसम्बन्धी संस्था योकोहामा प्लान्ट प्रोटेक्सन एसोसिएसनले भारतबाट २५ मार्च वा त्यसपछि जारी गरिएका निरीक्षण प्रमाणपत्रसहितका आँपहरू अब स्वीकार नगरिने जनाएको छ ।

संस्थाका अनुसार भारतले सञ्चालन मापदण्ड सुधार गरेपछि मात्र त्यहाँका आँप पुनः स्वीकार गरिनेछ । यसअघि सन् १९८६ मा फलफूलमा लाग्ने ‘फ्रुट फ्लाइ’को संक्रमणको कारण देखाउँदै जापानले भारतीय आँपमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध २० वर्षपछि हटाइएको थियो ।