काठमाण्डु – फिफा विश्वकपको २३औं संस्करण बिहीबारदेखि सुरु हुँदैछ ।
विश्पकप पहिलोपटक तीन देशले संयुक्त रूपमा आयोजना गर्ने १६ सहरमा हुँदैछ ।
सन् १९३० को पहिलो विश्वकपको आयोजना दक्षिण अमेरिकी देश उरुग्वेले गरेको थियो । २३औं संस्करण संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले गरिरहेको छ ।
विश्वकपमा ४ देशले पहिलोपटक सहभागिता जनाउँदैछ भने सर्वाधिक ५ पटक विश्वकपको उपाधि जितेको विश्वविजेता ब्राजिल लगातार २३औं संस्करणमा सहभागिता हुनेछ ।
पहिलोपटक उज्वेकिस्तान, जोर्डन, केप भेर्दे र कुरासाओले पहिलोपटक विश्वकप खेल्दै छन् ।
उज्वेकिस्तान र जोर्डन एसियाली मुलुक हुन् भने केप भेर्दे अफ्रिकी आइल्यान्ड र कुरासाओ नेदरल्यान्ड नियन्त्रित क्यारेबियन टापु हो । २३औं संस्करणमा ४८ देशले भाग लिएका छन् ।
४ वर्षको फरकमा विश्वकप आयोजनन हुने भनिएपनि पनि दोस्रो विश्वयुद्धका कारण १९४२ र १९४६ मा विश्वकप हुन सकेको थिएन ।
विश्वकप छनोट चरणको यात्रा पार गरी छानिएका युरोपका १६, एसियाका ९, अफ्रिकाका १०, तीन आयोजक देशसहित उत्तरी अमेरिका, क्यारेबियन र मध्यअमेरिकाका ६, दक्षिण अमेरिकाका ६ र ओसियानाका एक गरी ४८ देशले विश्वकपको २३औं सस्करण खेल्दै छन् । छनोट भएका ४८ देशलाई विभिन्न १२ समूहमा विभाजन गरिएको छ ।
यसअघिका २२औं संस्करणसम्म आठ देशले विश्वकप उपाधि जितेका छन् । जसमा सर्वाधिक ५ पटक ब्राजिल (१९५८, १९६२, १९७०, १९९४ र २००२), ३ पटक अर्जेन्टिना (१९७८, १९८६ र २०२२) र २ पटक उरुग्वे (१९३० र १९५०) उपाधि जितेका हुन् ।
यस्तै जर्मनीले पनि ४ पटक (१९५४, १९७४, १९९०, २०१४ मा उपाधि जितेको छ । जर्मनीले सुरुका तीनवटा विश्वकप पश्चिम जर्मनीको नामबाट खेलेको थियो ।
यसैगरी, फ्रान्सले २ पटक (१९९८ र २०१८), इङ्ल्यान्डले एक पटक (१९६६) र स्पेनले पनि एक पटक (२०१०)मा उपाधि हात पारेको छ । इटलीले ४ पटक (१९३४, १९३८, १९८२ र २००६) विश्वकप जितेको छ ।
उपाधि जित्ने ८ मध्ये ७ देशले २३औं संस्करणमा सहभागिता जनाउँदा इटली भने छनोट चरणमै रोकिएको छ ।
विश्वकपको उपाधि चुमिसकेका र यस विश्वकपमा सहभागिता जनाउने ७ देशमध्ये उरुग्वे र स्पेनबीच समूह चरणमा नै प्रतिस्पर्धा हुनेछ । यी दुई समूह ‘एच’मा छन् । जसमा केप भेर्दे र साउदी अरेबिया पनि समावेश छन् ।
अमेरिकाको ११ (एटलान्टा, बोस्टन, डालास, ह्युस्टन, क्यान्सस सिटी, लस एन्जलस, मायामी, न्युयोर्क, फिलाडेल्फिया, सान फ्रान्सिस्को, सियाटल) क्यानडाको २ (टोरन्टो र भ्यानकुभर ) तथा र मेक्सिकाको ३ (मेक्सिको सिटी, ग्वाडालाहारा र मोन्टेरे) गरी १६ सहरमा ४८ देश सहभागी विश्वकपको १ सय ४ खेल हुनेछन् ।
उद्घाटन खेल सहआयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच मेक्सिकोको एस्टाडिओ अज्टेकाका रंगशाला मेक्सिको सिटीमा जुन ११ हुनेछ भने समापन अमेरिकाको न्युयोर्क न्युजर्सीमा रहेको मेट लाइफ रंगशालामा जुलाई ११ मा हुनेछ ।
यस्तो छ समूह विभाजन
समूह ‘ए’
समूह ‘ए’ सहआयोजकमध्येको एक फिफा वरीयातामा १४औं स्थानमा रहेको मेक्सिको, २५औं स्थानमा रहेको दक्षिण कोरिया, ३९औं स्थानमा रहेको चेकिया र ६०औं स्थानमा रहेको दक्षिण अफ्रिका छन् ।
समूह ‘बी’
समूह ‘बी’मा फिफा वरीयतामा १९औं स्थानमा रहेको स्विट्जरल्यान्ड, ३०औं स्थानमा रहेको सहआयोजकसमेत रहेको क्यानडा, ५७औं स्थानमा रहेको कतार र ६४औं स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिना छन् ।
समूह ‘सी’
यस समूहमा फिफा वरीयतामा छैटौं स्थानमा रहेको ब्राजिल, सातौं स्थानमा रहेको मोरोक्को, ४२औं स्थानमा रहेको स्कटल्यान्ड र ८३औं स्थानमा रहेको हाइटी छन् ।
समूह ‘डी’
समूह ‘डी’मा फिफा वरीयतामा १७औं स्थानमा रहेको सहआयोजक संयुक्त राज्य अमेरिका, २२औं स्थानमा रहेको टर्की, २७औं स्थानमा रहेको अस्ट्रेलिया र ४०औं स्थानमा रहेको पाराग्वे छन् ।
समूह ‘ई’
यसैगरी समूह ‘ई’मा फिफा वरीयतामा १०औं स्थानमा रहेको जर्मनी, २३ औं स्थानमा रहेको इक्वेडर, ३३औं स्थानमा रहेको आइभरी कोस्ट र ८२औं स्थानमा रहेको कुरासाओ छन् ।
समूह ‘एफ’
यस समूहमा आठौं स्थानमा रहेको नेदरल्यान्ड्स, १८औं स्थानमा रहेको जापान, ३८औं स्थानको स्वीडेन र ४६औं स्थानमा रहेको टवनिसिया छन् ।
समूह ‘एच’
यस्तै समूह ‘एच’मा फिफा वरीयताको दोस्रो स्थानमा रहेको स्पेन, १६औं स्थानमा रहेको उरुग्वे, ६१औं स्थानमा रहेको साउदी अरेबिया र ६७औं स्थानमा रहेको केप भेर्डे छन् ।
समूह ‘आई’
यस समूहमा फिफा वरीयताको तेस्रो नम्बरमा रहेको फ्रान्स, १५औं नम्बरमा रहेको सेनेगल, ३१औं स्थानमा रहेको नर्वे र ५६औं स्थानमा रहेको इराक छन् ।
समूह ‘जे’
यो समूहमा फिफा वरीयताको पहिलो स्थानमा रहेको विश्वकपको साविक विजेता अर्जेन्टिना, २४औं स्थानमा रहेको अस्ट्रिया, २८औं स्थानमा रहेको अल्जेरिया र ६३औं स्थानमा रहेको जोर्डन छन् ।
समूह ‘के’
यसैगरी यो समूहमा पाँचौं स्थानमा रहेको पोर्चुगल, १३औं स्थानमा रहेको कोलोम्बिया, ४५औं स्थानमा रहेको कंगो र ५०औं स्थानमा रहेको उज्वेकिस्तान छन् ।
समूह ‘एल’
समूह ‘एल’मा फिफा वरीयतामा चौथो स्थानमा रहेको इङ्ल्यान्ड, ११औं स्थानमा रहेको क्रोएसिया, ३४औं स्थानमा रहेको पानामा र ७३औं स्थानमा रहेको घाना छन् ।
युवा फुटबलर आकर्षणको केन्द्र
२०२६ फिफा विश्वकपमा विश्व फुटबलका स्थापित सुपरस्टारसँगै नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरूको प्रदर्शनप्रति पनि सबैको चासो बढेको छ ।
स्पेनका युवा विंगर ल्यामिन यमलको प्रदर्शन चासोको विषय बनेको छ । यस्तै फ्रान्सका माइकल ओलिस राम्रो फर्ममा देखिएका छन् । उनले जारी सिजनमा २२ गोल र २६ असिस्ट गर्दै युरोपका शीर्ष ५ लिगका खेलाडीहरूमध्ये आफूलाई अब्बल सावित गरेका छन् । अर्का चर्चित विंगर ओसमान डेम्बेले पनि फ्रान्सका लागि भरपर्दा खेलाडी हुन् ।
यसैगरी इङ्ल्यान्डका कप्तान हेरी केन, स्पेनका मिडफिल्डर पेड्री, पोर्चुगलका ब्रुनो फर्नान्डेज तथा नर्वेका मार्टिन ओडेगाड पनि रुचाइएका खेलाडीमा समावेश छन् भने आइभोरी कोस्टका १९ वर्षीय विंगर यन दायमान्डे, इक्वेडरका डिफेन्डर विलियन पाचो, पोर्चुगलका मिडफिल्डर भितिन्हा तथा जर्मनीका अलेक्सन्डर पेभ्लोभिकको प्रदर्शनलाई पनि विश्वकपमा विशेष रूपमा हेरिएको छ ।
युवा खेलाडीहरूको प्रदर्शनसँगै विश्व फुटबलका स्थापित सुपरस्टारहरू लियोनल मेसी, काइलिन एमबाप्पे, भिनिसियस जुनियर, जुड बेलिङघम, क्रिस्टियानो रोनाल्डो, नेमार जुनियरलगायत पनि आकर्षणमा पर्ने छन् ।
विश्व प्रख्यात फुटबलर लियोनल मेसीका लागि २०२६ फिफा विश्वकप सम्भवतः अन्तिम विश्वकप बन्ने अनुमान गरिएको छ ।
पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै ऐतिहासिक ६ पटक विश्वकपमा सहभागिता जनाइरहँदा मेसीका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रूपमा आफ्नो नाम राख्ने अवसर मिल्नेछ ।
६ वटा विश्वकपमा सहभागी हुँदै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआसँगै सर्वाधिक विश्वकपको संस्करणमा सहभागी हुने खेलाडीको कीर्तिमान बनाएका लियोनल मेसीका लागि विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने अवसरसमेत मिल्नेछ । यी तीन खेलाडीबाहेक क्रोयसियाका लुका मोड्रिक, जर्मनीका म्यानुयल नेयुर र जापानका युटो नागातामोले ५ वटा विश्वकपको संस्करणमा सहभागिता जनाएका छन् । जो अहिले पनि खेल खेलिरहेका छन् ।
ब्राजिलका रोनाल्डोसँगै एक विश्वकपमा सर्वोत्कृष्ट खेलाडीको रूपमा गोल्डन बल, सर्वाधिक गोलकर्ताको रूपमा गोल्डन बुट पाउने खेलाडीको सूचीमा रहेका लियोनल मेसीका लागि त्यो अवसरसमेत थप प्राप्त गरी अर्को इतिहास रच्ने मौका छ ।
रोनाल्डोले १९९८ मा ४ गोलसहित गोल्डन बुट, गोल्डन बल पाएका थिए भने मेसीले २०१४ मा ४ गोलसहित गोल्डन बुट र गोल्डेन बल पाएका थिए । रोनाल्डो अहिले खेल जीवनमा नरहेकाले अर्को कीर्तिमान बनाउने अवसर मेसीलाई छ ।
२ पटक गोल्डन बल पाउने एक मात्र खेलाडीको रूपमा रहेका मेसीले २०२२ र २०१४ मा गोल्डन बल पाएका थिए ।




प्रतिक्रिया