सबै प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

सबै प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै


काठमाण्डु – सातै वटै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८३–८४ का लागि बजेट ल्याउँदै छन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका छन्।

कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढाएर, कुनैले घटाएर त कुनैले सोही हाराहारीमा बजेट ल्याउन लागेका हुन् । प्रदेश सरकारहरूले नयाँ कार्यक्रमको घोषणासँगै पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिएको सम्बन्धित प्रदेशका अधिकारीहरूले बताएका छन्।

कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोषहरि निरौलाका अनुसार कोसीको आगामी आर्थिक वर्षको बजेट चालु वर्षको तुलनामा बढ्ने भएको छ। उनले आगामी आवका लागि कोसी प्रदेश सरकारले ४० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

चालु आव २०८२–८३ का लागि कोसी प्रदेश सरकारले ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को भन्दा करिब ६ अर्ब रुपैयाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो।

चालु आवमा मधेस सरकारले ४८ अर्बको बजेट विनियोजन गरेको थियो। तर आगामी आवका लागि मधेस प्रदेश सरकारले ४२ अर्बको बजेट विनियोजना गर्ने तयारी गरेका छन्।

यस्तै बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।

बागमतीले चालु आव २०८२–८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार विनियोजन गरेको थियो।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट आकार केही बढाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले ३३ अर्ब हाराहारीको बजेट पेस गर्ने तयारी गरेका छन्।

यसैगरी लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि चालु आर्थिक वर्ष २०८२–८३ भन्दा पाँच अर्ब कम बजेट ल्याउने भएको छ। प्रदेश सरकारले आगामी आवका लागि झन्डै ३८ अर्ब रुपैयाँको बजेट ल्याउन लागेको हो।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ३६ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ। चालु आर्थिक वर्ष २०८२–८४ को भन्दा झन्डै चार अर्ब बढी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जानकारी दिएको छ । चालु आवमा सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका थिए। १५ दिनपछि आइतबारदेखि प्रदेशसभा बैठकमा बजेट माथि छलफल भएको छ।