काठमाडौं महानगरपालिकाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूले खान नपाएको भन्ने विषय अतिरञ्जित गरी प्रस्तुत गरिएको दाबी गरेको छ ।
सोमबार बिहान आश्रय लिइरहेका सुकुम्बासीहरूले चियानास्ता समेत खान नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका थिए । खान नपाएपछि उनीहरू आफैंले दालमोट र चिउरा किनेर खाएका थिए । तर त्यो विषय अतिरञ्जित गरि प्रस्तुत गरिएको महानगर प्रहरी प्रमुख विष्णु जोशी बताउँछन् ।
‘आज व्यवस्थापन फेरिँदा आधा घण्टा ढिला भएको हो। तर उहाँहरूले पुरानै व्यवस्थापन चाहिन्छ भन्नुभयो । खान नपाएको भन्ने होइन’, उनले भने, ‘पछि नयाँ व्यवस्थापनले दही चिउरा र फलफुल लिएर जाँदा समेत खान मान्नुभएन । उल्टो बिजोग देखाउन बाहिरबाट दालमोट चिउरा ल्याएर खानुभयो ।’
त्यहाँ बसिरहेका व्यक्तिहरूलाई व्यवस्थापन परिवर्तनसँग चासो हुन नहुने उनको भनाइ छ ।
गत वैशाख १२ गते विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका बासिन्दाहरू महिनौँदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बस्दै आएका छन् ।




प्रतिक्रिया