भक्तपुर – भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमले रौनक थएिको छ ।
‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नाराका साथ हरेक वर्ष आयोजना हुँदै आएको सम्मेलन यस वर्ष भक्तपुर नगरपालिका–७ गोमारीको यातामा सञ्चालन भइरहेको छ ।
सांस्कृतिक गुरु एवं ज्येष्ठ नागरिक मोतिबहादुर खायमलीले शुक्रबार बिहान उद्घाटन गरेको सम्मेलन राति ११:०० बजेसम्म चल्नेछ ।
सम्मेलनमा नेपालभाषाका कविता, कथा, निबन्धलगायत साहित्यिक रचना वाचन गरिनाका साथै नाटक, ख्याल, नृत्य, गीतिनाटक र गीतलगायत सांस्कृतिक प्रस्तुति गरिने आयोजकले जनाएको छ ।
नेपाल संवत् ११०० अर्थात् विक्रम संवत् २०३७ देखि निरन्तर आयोजना हुँदै आएको त:मुंज्याले नेपालभाषा, साहित्य, कला, संस्कृति तथा सम्पदाको संरक्षण र संवर्द्धनमा योगदान पुर्याउँदै आएको छ ।
४ दशकभन्दा लामो इतिहास बोकेको सम्मेलनबाट साहित्यिक गतिविधिमार्फत सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपालभाषामा लेख्न, सिर्जना गर्न र सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न प्रोत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनका क्रममा भाषा तथा साहित्यसम्बन्धी विज्ञका मन्तव्य, साहित्यकार तथा कलाकारको सम्मान र समसामयिक सामाजिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
साहित्यिक गतिविधि र सांस्कृतिक प्रस्तुतिलाई छुट्टाछुट्टै चरणमा सञ्चालन गर्ने परम्पराअनुसार दिउँसो साहित्यिक कार्यक्रम र साँझ सांस्कृतिक कार्यक्रम गरिने छ ।
प्रत्येक वर्ष भक्तपुरका फरक–फरक वडा तथा टोलमा आयोजना हुँदै आएको त:मुंज्यामा नेपालभाषाका अतिरिक्त अन्य भाषाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिलाई समेत स्थान दिइनेछ । प्रतियोगितात्मक साहित्य वाचनमार्फत नयाँ पुस्ताका लेखक, कवि तथा कलाकारलाई प्रोत्साहन गर्ने आयोजकको उद्देश्य छ ।
सम्मेलनमा साहित्यकार, कलाकार, संस्कृतिकर्मी, युवा, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय तथा भाषा–संस्कृतिप्रेमीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष उकेश कवांले जानकारी गराएका छन् ।


प्रतिक्रिया