विदेशीको पेटबाट निकालियो डेढ किलो कोकिन

विदेशीको पेटबाट निकालियो डेढ किलो कोकिन


काठमाण्डु- अवैध लागु औषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाण्डुबाट करिब १ किलो ५०० ग्राम कोकिनसहित एक जना सेनेगलका पुरुष र दुई जना भारतीय महिलालाई पक्राउ गरेको हो ।

इथियोपियाबाट दोहा हुँदै काठमाडौँ आएका सेनेगलका ४३ वर्षीय नागरिक आमादु सारलाई शङ्कास्पद रूपमा निगरानीमा राखिएको व्युरोले जनाएको छ । ब्युरोका अनुसार उनीहरु जेठ २६ गते कतार एयरवेज हुँदै नेपाल आएका थिए ।

व्युरोको जारी विज्ञप्तिमा उनीहरुलाई ठमेलस्थित एक होटलबाट नियन्त्रणमा लिई खानतलासी गर्दा सुरुमा उनको मुखबाट निलेर पेटभित्र लुकाई ल्याइएको १६ वटा प्लास्टिक कोटेड कोकिन क्याप्सुल फेला परेको हो। थप अनुसन्धानका क्रममा उनको पेटभित्र अन्य क्याप्सुलहरू समेत रहेको खुलेपछि प्रहरीले उनलाई अस्पताल भर्ना गराई चिकित्सकहरूको सहयोगमा थप ६० वटा क्याप्सुल निकालेको थियो । उनको पेटबाट निकालिएका जम्मा ७६ वटा क्याप्सुलभित्र कुल १ किलो ५०० ग्राम कोकिन फेला परेको ब्युरोले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सारमाथि थप अनुसन्धान गर्ने क्रममा उक्त कोकिन बुझ्न भारतको नयाँ दिल्लीबाट दुई महिला काठमाण्डु आएको खुलेको थियो । सोही सूचनाका आधारमा प्रहरीले जेठ ३१ अर्थात् आइतबार ठमेलस्थित सोही होटलबाट भारतको दक्षिण दिल्ली, खानपुर बस्ने ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूबाट एक थान राहदानी, भारतीय आधार कार्ड २ थान र ३ थान मोबाइल पनि बरामद गरेको जनाएको छ । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका तीनै जना प्रतिवादीहरूमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।