अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीसँग आईजीपी पौडेलको भेटघाट, युनिटपतिहरूलाई निर्देशन

अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीसँग आईजीपी पौडेलको भेटघाट, युनिटपतिहरूलाई निर्देशन


काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँग भेटघाट गर्नुका साथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत युनिटका कमाण्डरहरूलाई सुरक्षा सम्बन्धी आवश्यक निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँग भेटघाट गरे ।

आईजीपी पौडेलले संगठन बहालवाला तथा अवकाश प्राप्त कर्मचारीहरूको अथक मेहनत र पसिनाबाट श्रृजित भएकोले सबै कर्मचारीहरुको हकहितमा कसरी काम गर्न सकिन्छ त्यसमा संगठन अघि बढेको बताए ।

उनले बाहिनीस्तरमा ६ महिनादेखि १ वर्षसम्ममा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिने र जिल्लास्तरमा समेत भेटघाट कार्यक्रम राख्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै संगठन वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरूले मात्र नभई अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको प्रयासले समेत संगठन बलियो हुने हुँदा उनीहरूको सल्लाह, सुझावको समेत अपेक्षा रहेको बताए ।

आईजीपी पौडेलले आत्मीयता, देशप्रतिको उत्तरदायित्व हामी सबैमा भएको हुँदा संगठनमा कार्यरत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूको सेवासुविधाका लागि  प्रदेशस्तरीय अस्पताल स्तरोन्नति गर्दै जाने संगठनको योजना रहेको बताए ।

उनले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरूसँगको भेटघाटको क्रममा भएका अन्तक्रियाबाट आएका सल्लाह, सुझावहरू मनन योग्य भएको हुँदा संगठनबाट हुने सक्ने र दिन सक्ने सेवासुविधाहरू जुनसकै तहका अवकाश प्राप्त कर्मचारीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

सोही अवसरमा आईजीपी पौडेलले बाहिनी मातहत युनिटका कमाण्डरहरूलाई जिम्मेवारीमा रहँदा उच्च नैतिकताका साथ कार्य गर्न निर्देशन दिँदै अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा परिचालित हुँदा जिम्मेवारीप्रति इमानदार र प्रतिबद्ध हुनुका साथै थप चनाखो नतिजामुखी कार्य गर्न समेत जरुरी रहेको बताए ।

उनले विपद्को समयमा सरोकावाला तथा स्थानीय निकायहरुसँग आवश्यक समन्वय र सहकार्यका साथ परिचालन हुनुपर्नेमा जोड दिँदै मातहत सशस्त्र प्रहरी कर्मचारीहरूको गुनासो तत्काल समाधान गर्न तथा ‘चेन अफ कमाण्ड’ समेत कायम गर्न निर्देशन दिए ।