परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग भेटवार्ता


काठमाण्डु – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइसिङसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय, उच्चस्तरीय राजनीतिक आदानप्रदान तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श भएको छ ।

दुवै पक्षले नेपाल र चीनबिचको परम्परागत मित्रता, आपसी विश्वास र सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री खनालले नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीतिअनुसार छिमेकी मुलुकहरूसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्धलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आर्थिक विकास, पूर्वाधार निर्माण, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा चीनको सहयोगको प्रशंसा गरेका थिए ।

मन्त्री लिउ हाइसिङले चीनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र विकास प्रयासप्रति निरन्तर समर्थन रहने विश्वास व्यक्त गर्दै द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउने इच्छा व्यक्त गरेका थिए ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विभिन्न तहका राजनीतिक दल तथा संस्थाबिचको संवादलाई निरन्तरता दिने र विकास साझेदारीका क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

परराष्ट्रमन्त्री खनालले चीन भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट गरिरहेका छन् ।