काठमाण्डु – राजधानी काठमाण्डुको नापी कार्यालय चावहिल २ नम्बर नापी टोलीका अमिन टोपजङ्ग खत्री घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले उनलाई ६० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा मंगलबार नियन्त्रणमा लिएको हो ।
अमिन खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा (लालपूर्जा) बनाइदिन सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो । उजुरी निवेदनका आधारमा अख्तियारको टङ्गाल कार्यालयबाट विशेष टोली खटिएको थियो ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार टोलीले खत्रीलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–४ मकालबारीस्थित नापी कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिएको छ ।
घुस रकमसहित पक्राउ परेका अमिन खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।




प्रतिक्रिया