जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जी–७ राष्ट्रका नेताहरूले युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गर्न रूसमाथि थप दबाब बढाउने सहमति जनाएका छन् ।

फ्रान्सको इभियन–लेस–बेन्समा जारी शिखर सम्मेलनमा सहभागी नेताहरूले ऊर्जा क्षेत्रलगायत विभिन्न माध्यमबाट मस्कोमाथि प्रतिबन्ध कडा बनाउने विषयमा छलफल गरेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि शिखर सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य जी–७ नेताहरूसँग भेटवार्ता गरेका थिए ।

फ्रान्सेली कूटनीतिक स्रोतका अनुसार नेताहरूले ग्यास र तेल क्षेत्रमा थप प्रतिबन्धमार्फत रूसमाथि दबाब बढाउने निर्णय गरेका छन् । युद्धको वर्तमान अवस्थाले युक्रेनलाई केही रणनीतिक लाभ पुगेको निष्कर्षसमेत निकालिएको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रूसले सम्झौता गर्नुपर्ने बताए । उनले युद्धका कारण दुवै पक्षमा ठूलो मानवीय क्षति भएको उल्लेख गर्दै समाधानका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनका प्राथमिकतामा हवाई प्रतिरक्षा प्रणाली सुदृढीकरण, जाडो मौसमका लागि सहयोग तथा रूसमाथि थप अन्तरराष्ट्रिय दबाब रहेको बताए । उनले रूस युद्धमा विजयी नभएको र राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने धारणा व्यक्त गरे ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मरले पनि रूसविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरिएको जानकारी दिए । ती प्रतिबन्धमा रूसी तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानीमा संलग्न ट्यांकरहरू समेटिएका छन् ।

शिखर सम्मेलनमा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको पछिल्लो समझदारीपछि क्षेत्रीय स्थायित्वका विषयमा आफ्ना सहयोगी राष्ट्रसँग विचारविमर्श गरेको जनाइएको छ ।

जी७ को ३ दिने शिखर सम्मेलन बुधबार सम्पन्न हुने कार्यक्रम छ ।