ग्लोबल टाइम्ससँग परराष्ट्रमन्त्री खनाल-‘चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध हाम्रो नीति हो’

ग्लोबल टाइम्ससँग परराष्ट्रमन्त्री खनाल-‘चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध हाम्रो नीति हो’


काठमाण्डु – नेपालले चिनियाँ सरकारबाट प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै चीनसँग अझ बलियो सम्बन्ध निर्माण गर्न चाहना प्रकट गरेको छ ।

चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग द्विपक्षीय सहकार्यमा सम्पर्क सञ्जाल (कनेक्टिभिटी) र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

खनाल आइतबारदेखि बुधबारसम्म चीनको भ्रमण गेका छन् । भारत भ्रमणलगत्तै उनको चीन भ्रमण भएकाले यसलाई धेरैले कूटनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरेका छन् ।

भ्रमणका क्रममा मन्त्री खनाल र चिनियाँ समकक्षी वाङ यीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता भएको छ ।

वार्तामा नेपाल–चीन सम्बन्धका समग्र आयामबारे छलफल गर्दै दुवै देशले पूर्वाधार, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि र जनस्तरका सम्बन्ध विस्तारमा सहकार्य बढाउने सहमति गरेका छन् ।

नेपालले ‘एक चीन नीति’प्रतिको आफ्नो दृढ प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेको छ । त्यसको प्रत्युत्तरमा चीनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो अटल समर्थन पुनः व्यक्त गरेको छ ।

दुवै देशले विगतमा सहमति भएका परियोजना तथा कार्यक्रमहरूको शीघ्र कार्यान्वयनमा प्रतिबद्धता जनाउँदै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा समेत सहकार्यलाई सुदृढ बनाउने सहमति गरेका छन् ।

यसैगरी मन्त्री खनालले त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख ल्यु हाइशिङसँग भेटवार्ता गरी नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए ।

बेइजिङमा चीनको ग्लोबल टाइम्ससँग कुरा गर्दै मन्त्री खनालले चीन र भारत दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्नुको महत्त्वमा जोड दिए । ‘दुवै छिमेकीलाई नेपालका लागि अत्यन्त महत्त्वपूर्ण साझेदारको रूपमा नेपालले हेरेको छ’, उनले भने ।

उनले भने, ‘मेरो भ्रमणले हामी दुवै देशलाई कति महत्त्व दिन्छौँ भन्ने सन्देश दिएको हो । हामी विद्यमान सम्बन्धलाई अझ मजबुत, अझ राम्रो र विगतको भन्दा अझ गहिरो बनाउन चाहन्छौँ ।’

खनालले नेपालले चीन र भारत दुवैसँग हजारौँ वर्ष पुरानो आदानप्रदानको इतिहास साझा गरेको र यी दुई प्राचीन सभ्यतासँगको सम्बन्ध सभ्यतागत आधारमा स्थापित भएको स्मरण गरे । यही कारण नेपालले दुवै देशसँग विशेष सम्बन्ध राख्ने गरेको उनको भनाइ थियो ।

पहाड र नदीले जोडिएका निकट छिमेकीका रूपमा चीन र नेपालबीचको सहकार्य विभिन्न क्षेत्रमा फैलिएको पनि उनले बताए ।

खनालले चिनियाँ सरकारले लामो समयदेखि सामुदायिक विकास, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, ग्रामीण विकास तथा द्विपक्षीय व्यापारका क्षेत्रमा नेपाललाई महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गरे । उनका अनुसार दुई देशबीच सहकार्यका धेरै सम्भावना र क्षेत्र छन् ।

हाल नेपालको प्राथमिकता विगतको तुलनामा अर्थतन्त्रलाई धेरै तीव्र गतिमा अगाडि बढाउनु रहेको उनले बताए । ‘त्यसैले चीनसँगको सहकार्यमा सम्पर्क सञ्जाल, पूर्वाधार विकास तथा विज्ञान–प्रविधिलाई विशेष प्राथमिकता दिइने छ’, मन्त्री खनालले भने ।

सीमापार सम्पर्क मार्गहरू खोल्दै स्थलरुद्ध देशको सीमितताबाट मुक्त हुनु नेपालको दीर्घकालीन विकास आकांक्षा रहेको उल्लेख गर्दै मन्त्री खनालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालअन्तर्गतका प्रमुख पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउनु आवश्यक रहेको बताए ।

सीमापार रेलमार्ग, सडक तथा विद्युत् प्रसारण लाइनजस्ता परियोजनाले नेपाललाई स्थलरुद्ध देशबाट स्थल–जोडिएको देश (ल्यान्ड–लिंक्ड) मा रूपान्तरण गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ ।

हालै नेपाल सरकारले चिलिमे–केरुङ सीमापार प्रसारण लाइन परियोजना अघि बढाउने विषयमा चीनलाई जवाफपत्र पठाउने निर्णय गरेको छ । यसबारे खनालले आगामी चरणमा चिनियाँ प्राविधिक टोलीले स्थलगत विस्तृत सम्भाव्यता अध्ययन गर्ने जानकारी दिए ।

अध्ययन सम्पन्न भएपछि मात्र दुवै पक्षले मार्ग तथा निर्माणसम्बन्धी विस्तृत योजना तय गर्नेछन् । उनका अनुसार उक्त क्षेत्र अत्यन्त कठिन हिमाली भूगोलमा पर्ने भएकाले हालसम्म ठोस समयसीमा तय भएको छैन, तर प्रारम्भिक प्रक्रिया भने अघि बढिरहेको छ ।

खनालले ट्रान्स–हिमालयन बहुआयामिक सम्पर्क सञ्जालको समग्र अवधारणाबारे पनि जानकारी दिए । उनका अनुसार सीमापार प्रसारण लाइन र सीमापार रेलमार्ग यसका मुख्य परियोजना हुन् । रेलमार्गको सम्भाव्यता अध्ययन चिनियाँ पक्षले पूरा गरिसकेको छ र नेपालले जुन महिनाको अन्त्यसम्म पूर्ण प्रतिवेदन प्राप्त गर्ने अपेक्षा गरेको छ । त्यसपछि सीमा पूर्वाधार, मालवाहक करिडोर तथा क्षमता अभिवृद्धिसम्बन्धी काम उक्त प्रतिवेदनका आधारमा अगाडि बढाइनेछ ।

उनको दृष्टिमा यी सीमापार सम्पर्क परियोजनाहरू आर्थिक तथा जनस्तरका दुवै हिसाबले महत्त्वपूर्ण छन् । व्यापारका दृष्टिले चीन नेपालका लागि दोस्रो ठूलो व्यापारिक साझेदार हो । सम्पर्क सञ्जालमा सुधार आएपछि नेपाली विशेष उत्पादनहरूको चीनतर्फ निर्यात विस्तार हुने, वर्तमान ठूलो व्यापार असन्तुलन घट्ने तथा समग्र व्यापारको आकार बढ्ने अपेक्षा गरिएको छ ।

मानव सम्बन्धका हिसाबले पनि सम्पर्क सञ्जाल वस्तुहरूको आवतजावतका लागि मात्र नभई जनस्तरको आदानप्रदानका लागि सेतुका रूपमा काम गर्ने उनले बताए ।

यातायात सुविधामा सुधार आएपछि दुवै देशका नागरिकबीच भ्रमण बढ्ने र आपसी समझदारी अझ गहिरो हुने उनको विश्वास छ ।

उनले भने, ‘यी सम्पर्क परियोजनामार्फत चीनसँग अझ बलियो सम्बन्ध निर्माण गर्नु नै हाम्रो प्रमुख प्राथमिकता हो ।’ जुलाई १ मा चीनको कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको १०५औँ वार्षिकोत्सव मनाइँदै गर्दा मन्त्री खनालले बधाईसमेत दिए ।

उनले भने, ‘सीपीसीको नेतृत्वमा चीनले हासिल गरेको विकास अत्यन्त प्रभावशाली छ । तीव्र आर्थिक वृद्धिका क्षेत्रमा चीनको अनुभवबाट सिक्न हामी प्रेरित भएका छौँ । अत्यन्त छोटो अवधिमा झण्डै एक अर्ब मानिसलाई गरिबीबाट माथि उठाइएको हामीले देखेका छौँ, र त्यो नेपालको पनि आकांक्षा हो । आगामी एक दशकभित्र नेपाललाई सम्मानित मध्यम–आय भएको राष्ट्र बनाउने हाम्रो लक्ष्य छ । यही आकांक्षाका साथ हामी चीनसँग सहकार्य र साझेदारी गर्न चाहन्छौँ ।’