कालीगण्डकीमा बाँध निर्माणपछि माझी र बोटेको पेसा संकटमा

कालीगण्डकीमा बाँध निर्माणपछि माझी र बोटेको पेसा संकटमा


स्याङ्जा- मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत आयोजनाको बाँध निर्माणपछि माझी समुदायको पेसा संकटमा परेको छ ।

बाँध निर्माणपछि माछा मारेर जीविकोपार्जन माछाको कमी भएपछि पेसा संकटमा परेको हो । साथै डुंगा चलाउन नपाउँदा बोटे समुदायको पेसा पनि संकटमा परेको छ ।

माझी समुदायका अनुसार जलाशय बन्नुअघि कालीगण्डकी र आँधीखोलाको संगम क्षेत्र आसपासमा माछा प्रशस्त पाइन्थ्यो । नदीमा जाल थापेपछि भोलिपल्ट बिहान जालभरि माछा पर्थ्यो । अहिले १४४ फिट उचाइको बाँध बनेसँगै तल्लो भागका माछा माथिल्लो क्षेत्रमा आउन रोकिएको छ ।

मिर्मीका दिलबहादुर बोटेले भने, ‘पहिला माछाले घर चल्थ्यो, अहिले जाल थाप्दा पनि खाली हात फर्किनु पर्दछ । यही बाध्यताले माछा मार्ने पेसा छाडेर कालीगण्डकी जलयात्राको ‘स्टिमर’ चालक बन्न बाध्य भएँ, त्यो पनि अहिले राम्रो चलेको छैन, अब के पो गर्नु ।’

उनका अनुसार मिर्मीदेखि पर्वत, स्याङ्जा र गुल्मीको सेतीबिनी क्षेत्रसम्म सञ्चालन हुने जलयात्रामा यात्रु घट्दै गएका छन् । कालीगण्डकी ‘करिडोर’ र आसपासका सडक विस्तार भएसँगै तीर्थयात्री तथा पर्यटकहरू सिधै सडक मार्फत जान थालेपछि स्टिमर व्यवसायमा असर परेको उनको भनाइ छ ।

विसं २०६२ देखि स्टिमर चालकको काम गर्दै आएका दिलबहादुर बोटे भन्छन्, ‘पहिला जलयात्राको छुट्टै आकर्षण थियो, अहिले सडक पुगेपछि यात्रु नै पाउन मुस्किल छ, नदीमा माछा छैन, स्टिमरमा यात्रु पनि छैनन् । विदेश जान नपरे हुन्थ्यो भन्ने थियो, अब अरु केही पेसा व्यवसाय केही नभएपछि बाहिर जानुपर्ने बाध्यता आइलाग्यो । पेसा व्यवसायको अभावमा अहिले हाम्रो समुदाय अप्ठ्यारोमा परेको छ’, उनले भने ‘अधिकांशको आफ्नै खेतीयोग्य जमिन छैन, नदी र माछा नै सबैको जीविकोपार्जनको आधार थियो । पछिल्लो समय परम्परागत पेसा संकटमा परेपछि सम्पूर्ण परिवारको भविष्य अन्योलपूर्ण बन्दै गएको छ ।’

अर्का चालक मोहन बोटेको कथा पनि उस्तै छ । एउटै स्टिमरमा दुई जना चालक खटिने भए पनि यात्रु अभावले कामको निरन्तरता र आम्दानी दुवैमा चुनौती थपिएको छ ।

उनले भने, ‘माझी समुदायको उत्थानका लागि राज्यले सोच्नु पर्दछ ।’

जलविद्युत् आयोजनाको मिर्मी बाँधबाट प्रभावित सो समुदायलाई विकल्पका रुपमा यस क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको भए पनि अहिलेसम्म जग्गाधनी पुर्जा पाउन नसकेको उनीहरूको गुनासो छ । कालीगण्डकी गाउँपालिका कार्यपालिका सदस्यसमेत रहेका स्थानीय प्रेमबहादुर बोटेका अनुसार मत्स्य अनुसन्धान केन्द्र मिर्मीले वार्षिक तीन लाखभन्दा बढी माछाका भुरा जलाशयमा छोड्दै आएको छ । तर वर्षाको बाढीले सबै बगाएर लैजाँदा समस्या सृजना भएको हो । कालीगण्डकी गाउँपालिका ७ मा मात्र माछा मार्ने पेसामा आबद्ध माझी र बोटे समुदायका गरी ३८ घरपरिवार छन् ।

पालिकाले सो क्षेत्रमा प्राङ्गारिक मल उत्पादन गर्ने तयारी गरिरहेको बताउँदै त्यसबाट माझी तथा बोट समुदायलाई राहत पुग्ने जनाएको छ । कालीगण्डकी जलयात्रा व्यवस्थापन समितिले हाल १५० देखि ९० जना यात्रु क्षमताका चारवटा स्टिमर सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा माझी तथा बोटे समुदायका अगुवाहरूले उक्त जलाशयमा पर्यटक एवं तीर्थालु भक्तजनाका लागि डुंगा सयर गर्ने अनुमति दिए त्यसैमा रमाउँदै घरगाउँमै बसेर परिवार पाल्ने व्यवस्थाका लागि सरकारको ध्यानाकषर्ण गरेका छन् ।