काठमाण्डु – संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानले युद्ध अन्त्य गर्न एक अस्थायी सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन्।
इरानको सरकारी समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी राष्ट्रपति मसूद पाज्गियान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बिहान सम्झौतामा हस्ताक्षर गरेका हुन्।
शान्ति सम्झौतामा शुक्रबार जेनेभा नजिकैको लुसर्नमा हस्ताक्षर हुने भनिएको थियो तर एक दिन अगाडि नै फ्रान्सको ऐतिहासिक भर्साइल्स दरबारमा हस्ताक्षर गरिएको छ।
इरानी अधिकारीहरूले यसअघि पनि जेनेभामा शुक्रबार औपचारिक हस्ताक्षर समारोह तथा त्यसपछि थप वार्ताको कार्यक्रम कायम रहेको बताएका थिए।
आइआरएनएले सम्झौता हस्ताक्षरको तस्बिरहरू जारी गरेको छ, जसमा पाजास्कियानले दस्तावेजमा हस्ताक्षर गरिरहेको र ट्रम्पले आफ्नो हस्ताक्षर भएका पृष्ठहरू देखाएको देखाइएको छ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि सामाजिक सञ्जालमा ट्रम्पले पेरिसको भर्साइल्स दरबारमा सम्झौतामा हस्ताक्षर गरेको भिडियो साझा गरेका छन्।
यो सम्झौताले इरानमा युद्ध अन्त्य गर्नेछ र लेबनानमा द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको छ । साथै होर्मुजको जलडमरूम फेरि खोल्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने लक्ष्य राखेको छ।
‘अब यो सम्झौताको कार्यान्वयनको परीक्षण गर्ने समय आएको छ,’ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईलाई उद्धृत गर्दै समाचार संस्था आईआरएनएले जनाएको छ।
औपचारिक रूपमा अमेरिका र इरानबीचको इस्लामाबाद समझदारीपत्र नाम दिइएको उक्त दस्तावेजमा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्य गर्ने आह्वान गरिएको छ।
सम्झौताअनुसार अमेरिकाले ३० दिनभित्र इरानमाथि लगाएको आफ्नो नौसैनिक नाकाबन्दी हटाउने प्रतिबद्धता जनाएको छ।
यस अवधिमा समुद्री जहाजहरूको आवागमन युद्धअघिकै स्तरमा पुनःस्थापित गरिने अपेक्षा गरिएको छ। दस्तावेजमा अन्तिम सम्झौता सम्पन्न भएको ३० दिनभित्र अमेरिकाले इरानको आसपासबाट आफ्ना सैन्य बल फिर्ता गर्ने पनि उल्लेख छ।
समझदारीपत्रमा थप भनिएको छ कि ‘इरानले ६० दिनसम्म कुनै शुल्क नलिई व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछ।’
यस सम्झौतासँगै करिब ११० दिन लामो युद्धको अन्त्य भएको छ। उक्त युद्ध २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि पहिलो सैन्य आक्रमण गरेपछि सुरु भएको थियो।




प्रतिक्रिया