सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भयो : गृहमन्त्री

सुरक्षा निकायमा राजनीतिक दबाब र चलखेल अन्त्य भयो : गृहमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायमा हुने राजनीतिक दबाब र चलखेल अन्त्य भएको दाबी गरेका छन् ।

विपद् व्यवस्थापन समितिको बिहिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गलत गर्ने व्यक्ति आफ्नै पार्टीकै रहेपनि नछाड्ने बताए ।

‘सेवा नै हाम्रो धर्म हो । सुरक्षा निकायहरू नागरिकको सेवामा खट्ने हो । अपराध नियन्त्रणदेखि लिएर सबै कुरामा सबै सुरक्षा निकायका प्रमुखहरूसँग हिजो बैठक बसेको थियो । यसमा हामी निर्मम रूपमा प्रस्तुत हुन्छौँ । गलत गर्ने आफ्नो पार्टी, अर्काको पार्टी भनेर हामीले हेर्दैनौँ । गलतलाई गलत नै भन्छौँ,’ उनले भने ।

उनले विपद् व्यवस्थापनको तयारीमा सरकार लागिसकेको बताउँदै पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग लगायत विभिन्न सडक अवरुद्ध भइरहेका सन्दर्भमा गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको उनले जानकारी दिए ।

बाढी–पहिरो जस्ता विपद्का बेला तत्काल सडक खुलाउन आवश्यक उपकरण कहाँ छन् भन्ने जानकारी दिने डिजिटल प्रणाली विकास गरिएको उनको भनाइ छ ।

राइड सेयरिङ एपजस्तै अवधारणामा आधारित प्रणालीमार्फत डोजर तथा अन्य उपकरणको स्थान पहिचान गरी आवश्यक ठाउँमा छिटो परिचालन गर्न सकिने उनले बताए ।

उनले विगतका सरकारका कामको आलोचना मात्र नगरी राम्रो अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार्दै सरकार अघि बढ्ने बताए ।