काठमाडौं — ई–पासपोट खरिद प्रकरणमा काँग्रेस नेतृ एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि तानिएकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरजुलाई पनि ई–पासपोर्ट छपाइसम्बन्धी अनियमिततामा छानबिनको दायरामा ल्याएको हो ।
अख्तियारले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको बुढानीलकण्ठस्थित देउवा निवासमा म्याद तामेलीको सूचना टाँस गरेको हो ।
सूचनामा पासपोर्ट छपाई प्रकरण छानबिनका सिलसिलामा बयानका लागि हाजिर हुन आउन भनिएको छ । श्रोतका अनुसार म्याद तामेली गरिएको बारे देउवा दम्पत्तिलाई जानकारी दिइएको छ ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा आन्दोनकारीबाट कुटिएका आरजु र उनका पति पूर्वप्रधानमन्त्री एवं काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा उपचारका सिलसिलामा देशबाहिर छन् ।
सिंगापुर हुँदै उनीहरु हाल हङकङ छन् । केही दिनअघि मात्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र विशेष अदालतमा पत्राचार गर्दै देउवा दम्पत्तिले आफूहरु देश छाडेर नभागेको भन्दै अनुसन्धानमा सघाउन छिट्टै स्वदेश फर्कने तयारीमा रहेको जानकारी गराएका थिए ।
ई–पासपोर्ट छपाई अनियमितता छानबिनका लागि अख्तियारले केही दिनअघि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिलकुमार केसीलाई पक्राउ गरेको थियो ।




प्रतिक्रिया