शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले उपलब्ध स्रोतका आधारमा अधिकतम बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ मा शिक्षा तथा खेलकुद क्षेत्रमा कुल बजेटको १०.२८ प्रतिशत अर्थात् २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ ।
मन्त्री पोखरेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र खेलकुद क्षेत्रमा सन्तुलित बजेट विनियोजन गरिएको बताउँदै डिजिटल सिकाइ, पूर्वाधार विस्तार र सीप विकासलाई प्राथमिकता दिइएको उल्लेख गरे ।
‘उपलब्ध स्रोतका आधारमा शिक्षा तथा खेलकुद क्षेत्रका लागि अधिकतम बजेट छुट्टयाइएको छ,’ मन्त्री पोखरेलले भने।
मन्त्री पोखरेलले विद्यालय शिक्षामा स्मार्टबोर्ड, दिवा खाजा, पूर्वाधार अनुदान तथा शिक्षक तालिम कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए। साथै, खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार र सम्मानको व्यवस्था गरिएको पनि बताए।




प्रतिक्रिया