पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं: भौतिकमन्त्री लम्साल

पूर्वाधारको बजेट नै नबुझ्ने गरी बनाएका थियौं: भौतिकमन्त्री लम्साल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले यस वर्षको पूर्वाधार बजेट जानाजानी ‘नबुझ्ने’ शैलीमा तयार गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘सबैभन्दा बढी गुनासो मेरै मन्त्रालयमा आएको होला,’ मन्त्री लम्सालले भने, ‘आउनु स्वाभाविक पनि हो, किनभने हामीले बजेट नै त्यस्तैगरी बनाएका छौं, अलिकति नबुझ्नेगरी बनाएका छौं ।’

उनका अनुसार एकै प्रकृतिका आयोजनामा टेन्डर प्रक्रिया एकै पटक खोल्दा कामको समय फरक पर्ने समस्या समाधान गर्न बजेटलाई साना–साना शीर्षकमा विभाजन गरिएको हो ।

उनले यस वर्ष करिब १० खर्ब रुपैयाँ बराबरका आयोजनाको टेन्डर लाग्ने र ती परियोजना आगामी तीन वर्षमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री लम्सालले सडक सुरक्षामा यसअघि पर्याप्त ध्यान नदिइएको भए पनि यस पटक पहिरो प्रभावित सबै क्षेत्रमा बजेट विनियोजन गरिएको दाबी गरे । साथै, आगामी वर्षदेखि सडक संरचनामा ओभरपास, अन्डरपास र फ्लाइओभर जस्ता संरचना समावेश गरिने पनि बताए ।