काठमाण्डु – एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दार्चुलाको महाकाली नगरपालिका–३ स्थित हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाण्डुस्थित मेरुदण्डीय पक्षघात समूह नेपाललाई विशेष सहयोग उपलब्ध गराएको छ ।
बैंकले प्रविधिको पहुँच विस्तार बढाउँदै विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउने उद्देश्यका साथ विद्यालयलाई ल्यापटप प्रदान गरेको छ भने मेरुदण्डीय पक्षघात सम्बन्धी विशेष सेवा उपलब्ध गराइरहेको संस्थासँग आवद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरूको दैनिक जीवनयापनमा थप सहयोग होस् भन्ने हेतुले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ ।
हाल १३५ भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयमा बुधबार विशेष कार्यक्रमबिच बैंकका दार्चुला शाखा प्रमुख अरुणसिंह धामीले विद्यालयका प्रधानाध्यापक वीरसिंह महरलाई १ थान ल्यापटप हस्तान्तरण गरे । मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरूको सहयोग, पुन:स्थापना तथा दीर्घकालीन हेरचाहमा कार्य गर्दै आइरहेको मेरुदण्डीय पक्षघात समूह नेपाललाई शुक्रबार विशेष कार्यक्रमबिच बैंकका काठमाण्डु नर्थका सर्कल हेड सुदिनकुमार लामा र सीएसआर तथा वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी र महासचिव केशव थापालाई संयुक्तरूपमा आरओ वाटर प्युरिफायर जडान गरी हस्तान्तरण गरे ।
बैंकले उपलब्ध गराएको सहयोगले विद्यालयका विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै प्रविधिको पहुँचमा सहयोग पुग्ने र मेरुदण्डीय पक्षघात समूह नेपाललाई उपलब्ध गराएको सहयोगले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य तथा सरसफाइमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जानकारी दिए ।




प्रतिक्रिया