पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार पोखरा सभागृहमा बसेको १९औँ नगर सभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

चालू वर्षमा ८ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा १ अर्ब १९ करोड ८७ लाखले न्यून हो ।

बजेटका स्रोतहरूमा संघीय सरकार सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, समपूरक अनुदान १ करोड ८२ लाख र संघीय सरकार समानीकरण अनुदान ४९ करोड ३७ लाख रहेको छ । गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान र ४० लाख र समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् ।

राजस्व बाँडफाँटबापत संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेश सरकारबाट ४ करोड ९ लाख ८६ हजार, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ १ अर्ब ३१ लाख १४ हजार र आन्तरिक स्रोततर्फ २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार गरी कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार अनुमान गरिएको छ ।

महागनरको वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धन गर्नु बजेटका उद्देश्य रहेको उपप्रमुख गुरुङले बताइन् ।

‘चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्ने, राजस्व सुधार योजना कार्यान्वयन, निजी क्षेत्रको लगानी आकर्षित, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा आकर्षण गर्ने र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण बजेटका प्राथमिकता क्षेत्रहरू हुन्,’ उपप्रमुख गुरुङले भनिन् ।

महानगरले आगामी वर्षमा फिर्केखोला कोरिडोर पोखरा बसपार्क लगायतका महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनका लागि १० करोड बजेट विनियोजन गरेको छ ।

महानगरले पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजना पूरा गर्नका लागि ५५ करोड ५० लाख ६३ हजार विनियोजन गरेको छ । पोखरा सभागृह पुनर्निर्माणका लागि ५ करोड छुट्याइएको छ । शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १ करोड २० लाख र गण्डकी बहुप्राविधिक शिक्षालयका लागि २ करोड ६० लाख विनियोजन गरिएको छ ।

महानगरको फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि १५ करोड र प्रभावित क्षेत्रका लागि थप ५ करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । निर्माणाधीन तालचोक बेगनास सडकको बाँकी काम सम्पन्न गर्नका लागि १५ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण र पुन:स्थापनाका लागि ३ करोड २४ लाख, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि ३ करोड विनियोजन गरेको छ । महानगरले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषिलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन ३ करोड ६८ लाख र उद्यम विकास, रोजगार सिर्जना तथा नवप्रवर्तनका लागि १ करोड २५ लाख छुट्याइएको छ ।

बजेट कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि ६० लाख, तथा खेल पर्यटनका लागि र ६६ लाख विनियोजन गरिएको छ । महानगरले चालु वर्षमा विनियोजित बजेटमध्येमा जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत खर्च भएको जनाएको छ ।

चालुतर्फ ३ अर्ब ५१ करोड ३२ लाख ८९ हजार र पुँजीगततर्फ ४ अर्ब ८३ करोड ७९ लाख ११ हजार अनुमान गरिएकामा चालुतर्फ २ अर्ब १६ करोड ९७ लाख ५५ हजार र पुँजीगततर्फ १ अर्ब १७ करोड ८ लाख ६० हजार मात्र खर्च भएको उपप्रमुख गुरुङले बताइन् ।