रास्वपामा गुटगत प्यानल निषेध

रास्वपामा गुटगत प्यानल निषेध


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारबाट चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्यानल बनाउन नपाइने भएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले शनिबार जारी गरेको आचारसंहितामा प्यानल बनाउन निषेध गरिएको उल्लेख छ ।

निर्वाचनमा प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार गर्न रोक लगाइएको छ । निर्वाचनमा व्यक्तिगत प्रतिस्पर्धा मात्र गर्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

‘निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुनेछ’, आचारसंहितामा भनिएको छ , ‘निर्वाचनको क्रममा कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचार–प्रसार गर्न वा गराउन पाइने छैन ।’


आयोगले उम्मेदवारी प्रमाणित गरेपछि मात्र प्रचार–प्रसार गर्न पाइने पनि आचारसंहितामा छ ।


महाधिवेशनस्थल वा आसपास प्लेकार्ड, ब्यानर, फ्लेक्स, पर्चा वा पम्प्लेट प्रदर्शन र वितरण गर्न समेत निषेध गरिएको छ ।