काठमाण्डु – पूर्वाधार विकास मन्त्री सुनील लम्सालले निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई थुनेर वा कुटेर भए पनि काम लगाउन निर्देशन दिएका छन् ।
रुग्ण अवस्थामा रहेको मेची र मध्यपहाडी राजमार्गसँगै तमोर करिडोर क्षेत्रको स्थलगत निरीक्षणका क्रममा शनिबार मन्त्री लम्साल आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा ठेकेदारलाई थुन्न र कुट्न निर्देशन दिए ।
यसअघि उनले नागढुंगा–मुग्लिन सडक आयोजनाको अनुगमनका क्रममा ठेकेदारको खुट्टा भाँच्नुपर्ने अभिव्यक्ति दिएपछि आलोचना भएको थियो ।
शनिबार पाँचथरमा उनले भने, ‘सुरक्षा संयन्त्र जिम्मेवार हुन जरुरी छ, समयमा काम नगर्ने ठेकेदारलाई थुनेर, बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुस्, देशमा सरकार छ भन्ने महसूस गराउनैपर्छ ।’
आयोजना प्रमुखहरूले रुग्ण आयोजनाको ठेक्का तोड्दा व्यवसायीबाट कर्मचारीलाई खतरा हुने भएकाले सुरक्षाको प्रत्याभूति हुने वातावरण तयार गरिदिन अनुरोध गरेका छन् ।




प्रतिक्रिया