सप्तरीमा प्रहरीको इन्काउन्टर, एक जनाको मृत्यु

सप्तरीमा प्रहरीको इन्काउन्टर, एक जनाको मृत्यु


काठमाडौं – सप्तरीमा प्रहरीको इन्काउन्टरबाट बुधबार बिहान एक जनाको मृत्यु भएको छ। केही दिन अगाडी सप्तरीको खडक नगरपालिका स्थित विसनपुर चौकीका प्रहरी हवल्दार महेन्द्र सत्रा यादवलाई गोली प्रहार गर्ने दीपेन्द्र जैसवाल प्रहरी इन्काउन्टरमा मारिएका हुन्।

प्रहरीले उनलाइ नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि गोली प्रहार गर्न खोजेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। जवाफी कारबाहीमा जैसवालको मृत्यु भएको २ नम्वर प्रहरी प्रमुख डिआइजी हरिपालले जानकारी दिए। प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हरिबहादुर पालले प्रहरी मुठभेडमा उनको मृत्यु भएको पुष्टि गरे । उनका अनुसार प्रहरीलाई देख्नेवित्तिकै दीपेन्द्रले प्रहरीलाई नै एक राउण्ड फायरिङ गरेपछि प्रहरीतर्फबाट पनि फायरिङ भएको थियो । सो क्रममा उनको घटनास्थलमै मृत्यु भएको पालले जानकारी दिए । चौधरीमाथि २ गोली लागेको छ ।

एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए ।

उनी २०७२ सालमा प्रहरी असई रमेश सुब्बाको हत्यामा संलग्न समेत भएका अपराधी भएको बताइएको छ । त्यतिबेला उनले प्रहरीको भ्यानमाथि एम्बुस थापेर सो घटना घटाएको प्रहरीको दाबी छ ।  यस्तै उनी अरु विभिन्न आपराधिक कार्यमा पनि संलग्न भए पाइएको प्रहरीले जनाएको छ ।