काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम महाधिवेशन लम्बिएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि कार्यतालिका पटकपटक प्रभावित हुँदा महाधिवेशन लम्बिएको हो ।
बुधबार बिहान ९ बजेदेखि हुने भनिएको केन्द्रीय सदस्यको निर्वाचन साँझ साढे ८ बजेबाट सुरु हुने भएको छ । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो ।
तर प्रतिनिधि छनोटसहित प्राविधिक कारणले सोमबार बन्द सत्र नै भएन । बन्द सत्र ढिलो गरी मंगलबार दिउँसोमात्र सुरु भयो । जसकारण मंगलबार सक्नु पर्ने महाधिवेशन बुधबारसम्म लम्बिएको हो । तर बुधबार पनि महाधिवेशन सम्पन्न नहुने भएको हो ।
मध्यराति पहिलो चरणको मतदान सुरु भएपनि दोस्रो चरणमा पदाधिकारीका लागि मतदान बिहीबार मात्रै हुनेछ । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी ६ जनाको निर्वाचन हुनेछ ।

रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट ५ जना निर्वाचित हुनेछन् ।
७ प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो । लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोसी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
उनका अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । नामावली सार्वजनिकसँगै दाबी विरोधका लागि समय दिइएको छ । यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।




प्रतिक्रिया