रास्वपा महाधिवेशन- महामन्त्रीका लागि १० जनाबीच प्रतिस्पर्धा

रास्वपा महाधिवेशन- महामन्त्रीका लागि १० जनाबीच प्रतिस्पर्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार उपसभापति, महामन्त्री र सह-महामन्त्रीसहित ६ पदका लागि निर्वाचन हुनेछ। जसमा महामन्त्रीका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।

सभापतिमा रवि लामिछाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

पार्टीको संशोधित विधानअनुसार १९ सदस्यीय पदाधिकारीमध्ये सभापतिसहित ७ पद निर्वाचनबाट चयन हुने व्यवस्था छ भने बाँकी १२ जना पदाधिकारी मनोनीत गरिनेछन्।

निर्वाचन हुने पदमा एक खुला उपसभापति, एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सह–महामन्त्री र एक महिला सह–महामन्त्री रहेका छन्।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा प्रमाणित प्रारम्भिक सूचीअनुसार खुला उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। किनकी सो पदका लागि अर्का आकांक्षी विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिए।

महिला उपसभापति पदमा भने सोबिता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्री पदमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक सूचीअनुसार कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यले उम्मेदवारी दिएका छन्। यद्यपि, जगदीश खरेलले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

दुई खुला सह–महामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।

महिला सह-महामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्।