रवि लामिछानेका उम्मेदवार आचार्यलाई समर्थन गर्दै महामन्त्रीका चार आकांक्षी पछि हटे

रवि लामिछानेका उम्मेदवार आचार्यलाई समर्थन गर्दै महामन्त्रीका चार आकांक्षी पछि हटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनअन्तर्गत महामन्त्री पदमा रस्साकस्सी देखिएको छ ।

सभापति रवि लामिछाले विपिनकुमार आचार्यलाई महामन्त्रीमा निर्विरोध निर्वाचित गराउन चाहन्थे ।

तर, आकांक्षी धेरै भएपछि उनको प्रयास सफल हुन सकेन । यद्यपि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका ४ आकांक्षीलाई पछि हटाउन लामिछाने सफल भए ।

बिहीबार रातिदेखि नै उनी सहमति जुटाउन महामन्त्रीका आकांक्षीसँग संवादमा थिए ।

लामिछानेले गरेको आग्रह स्वीकार गर्दै निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी,संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वपत्रकार जगदिश खरेल र लामिछानेका सहयोगी प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले यसअघि नै उम्मेदवारी फिर्ता लिएका थिए ।

अब महामन्त्रीका लागि आचार्यसहित मनिष झा, गणेश कार्की, सागर ढकाल र रञ्जु दर्शना न्यौपाने चुनावी मैदानमा छन् ।


उम्मेदवारी फिर्ता लिएकामध्ये खनालबाहेक चार जनाले लामछिानेका उम्मेदवार आचार्यलाई समर्थन जनाउने घोषणा गरेका छन् ।

परराष्ट्रमन्त्री खनाल भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।

उम्मेदवारी फिर्ता लिएकाहरुले सामूहिक पत्रकार सम्मेलन गरी आफूहरु आचार्यको पक्षमा उभिने बताए ।

उपनेता पराजुलीले आफूहरुले आचार्यलाई सघाउने निधो गरेको भन्दै उनलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।

‘सबै महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गर्न चाहन्छौं यहाँहरूले अप्ठ्यारो गरी निर्णय गर्नुपर्ने अवस्था नरहेको र हामी सबैको समर्थन विपिनलाई रहेको छ’, पराजुलीले भने, ‘उहाँलाई भोट हाल्न अनुरोध गर्न चाहन्छौं ।’

लामिछानेका उम्मेदवार आचार्य पनि पत्रकार सम्मेलनमा सहभागी थिए । उनले आफूलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका बुर्लाकोटी, पराजुली, खरेल र न्यौपानेलाई धन्यवाद दिए ।

आचार्यले महामन्त्री उम्मेदवारी फिर्ता गरेर आफूलाई समर्थन गर्ने नेताहरुले रास्वपामा प्रतिस्पर्धाभन्दा पहिला सहकार्य हुन्छ भन्ने पुष्टि गरेको जिकिर गरे ।

पार्टीलाई एउटै धागोमा बाँधेर एकताबद्ध गराउने नेतृत्वको चाहनाको उम्मेदवारी फिर्ता लिएकाहरुले सम्मान गरेको तर्क आचार्यको थियो ।

‘एउटा उन्नत लोकतान्त्रिक पार्टीमा प्रतिस्पर्धा हुन्छ । तर त्यसभन्दा अगाडि जहिल्यै सहकार्य पनि हुन्छ भन्ने साथीहरुले देखाइदिनुभएको छ’, आचार्यले भने ।

रास्वपा सभापतिमा रवि लामिछाने र पुरुषतर्फको उपाध्यक्षमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

लामिछानेविरुद्ध कसैले उम्मेदवारी नै दिएन भने उपाध्यक्षमा उम्मेदवारी दिएका ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले लामिछानेको बिहीबार रातभरको प्रयासमा उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध भए ।