चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका मनिष झाले संस्थापन समूहले गुटबन्दी गरेको आरोप लगाएका छन् ।
महाधिवेशन स्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले महामन्त्रीका अन्य आकांक्षीलाई उम्मेदवारी फिर्ता गर्न दबाब दिइएकोमा आपत्ति जनाए । यद्यपि आफू पछि नहट्ने र उम्मेदवारी कायमै रहेको झाले स्पष्ट पारे ।
झाले पार्टीमा गुटबन्दी गर्नेमाथि कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरे । उनले संस्थापन पक्षका नाममा गुटबन्दी भइरहेको टिप्पणी गरे ।
‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु’, झाले भने, ‘गुटबन्दीको प्रयास गर्नेहरुलाई कारबाही गर्दिनुस् न ।’
झाले कसैको फोनका भरमा उम्मेदवारी फिर्ता नलिने स्पष्ट गरे ।
झाले महामन्त्रीमा आफू जित्ने पनि दाबी गरे । महामन्त्रीमा १० जनाको उम्मेदवारी परेकामा पार्टी एकताका लागि भन्दै ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारीबाट पछि हट्नेमा निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता गणेश पराजुली, परराष्ट्रमन्त्री शिशिर खनाल, रञ्जु दर्शना, पूर्वपत्रकार जगदिश खरेल, राजुनाथ पाण्डे र सभापति लामिछानेका सहयोगी प्रमोद न्यौपाने छन् ।
उनीहरु सबैले लामिछानेका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन गरेका छन् ।
महामन्त्रीमा अब झा र आचार्यसहित सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।
झाले हिजो उम्मेदवारी दिएर आज फिर्ता लिनेहरुलाई आलोकाँचोको संज्ञा दिए ।
‘यो महाधिवेशनमा सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेको मैले हो, महामन्त्रीमा उठ्छु भनेर’, झाले भने, ‘ मेरो उम्मेदवारी यथावत् छ । यस्तो आलोकाँचो राजनीति पनि गर्न भएन । हिजो बेलुकी उम्मेदवारी दिने अहिले फिर्ता लिने ?’
झाले परिणाम जेसुकै आए पनि आफू सशक्त रुपमा भिड्ने बताए । कसैको फोन आएछि सोचौंला भन्ने खालको राजनीतिको पक्षमा आफू नरहेको उनको स्पष्टोक्ति थियो ।
‘फलानोको फोन आएपछि सोचौंला र सोधौंला भन्ने राजनीति हुँदैन,’ उनले भने, ‘म सशक्त रूपमा लागेको छु र अघि बढेको छु ।’




प्रतिक्रिया