जालझेल, षड्यन्त्र र गुटबन्दीको अभ्यास भयो, रवि लामिछानेको खिल्ली उडाइयोः गणेश कार्की

जालझेल, षड्यन्त्र र गुटबन्दीको अभ्यास भयो, रवि लामिछानेको खिल्ली उडाइयोः गणेश कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत महामन्त्रीमा उम्मेदवारी दिएका गणेश कार्कीले नेतृत्वले पूर्वप्रतिबद्धता विपरीत पक्षधरता लिएको आरोप लगाएका छन् ।

कार्कीले पार्टीमा विधिको विकास गर्नुपर्नेमा गुटबन्दी संस्थागत गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

६ जनालाई महामन्त्रीको उम्मेदवारी फिर्ता लिन लगाएर विपिन आचार्यलाई समर्थन गर्न लगाइनुले गुटबन्दी भएको कार्कीको भनाइ छ ।

यस्ता व्यवहार पार्टीको संस्थागत विकासमा अवरोध हुन सक्ने तर्क उनको छ ।

नेतृत्व नै जालझेल र गुट बनाउने काममा लाग्न नहुने भन्दै उनले त्यसले चुनावमा भाग लिन पाउने प्रतिनिधिहरूको लोकतान्त्रिक अधिकार खोस्ने उल्लेख गरे ।

‘नेतृत्वले जालझेल, षड्यन्त्र र गुट बनाउने काम गर्न मिल्दैन’, कार्कीले भने ।

कार्कीले सभापति रवि लामिछानेले अरूका लागि भोट माग्ने पार्टीको पक्का सदस्य हुन नसक्ने भनाइको खिल्ली उडाउने काम भएको टिप्पणी गरे ।

लामिछानेले महाधिवेशन उद्घाटन सत्रमा अर्काका लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हुन नसक्ने र व्यक्तिगत प्रतिस्पर्धा हुने बताएको स्मरण कार्कीले गरे ।

‘यही अधिवेशनमा सभापतिले उदघाटन गर्दै भन्नुभएको थियो, अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य होइन । सभापतिको भनाइ सेलाउन नपाई उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ’, कार्कीले भने, ‘त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ । हामीले खराब भन्दै आएको गठबन्धन र प्यानलको राजनीतिको झल्को दिन्छ ।’

शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना न्यौपाने, राजुनाथ पाण्डे, जगदिश खरेल र सभापति लामिछानेका सहयोगी प्रमोद न्यौपानेले उम्मेदारी फिर्ता लिएर विपिनकुमार आचार्यलाई समर्थन गरेका छन् ।

सभापति लामिछाने आचार्यको पक्षमा वातावरण बनाउन ती सबैको उम्मेदवारी फिर्ता गराउन सक्रिय भएका थिए ।

६ जनाको उम्मेदवारी फिर्तासँगै आचार्यसहित मनिष झा, गणेश कार्की र सागर ढकाल महामन्त्रीको प्रतिस्पर्धामा छन् ।