काठमाण्डु– उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा कम समयको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पले व्यापक जनधनको क्षति पुर्याएको छ ।
भूकम्पमा परि कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने करिब ४ हजार ३०० जना घाइते भएका छन् । भग्नावशेषमुनि अझै पनि धेरै मानिस फसेको आशंका गरिएको छ ।
संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका २ भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएका, चर्किएका र ढलेका छन् । बिहीबारसम्म पनि शक्तिशाली परकम्पहरू महसुस भइरहेका छन् ।
स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोले मृतकको सङ्ख्या २३५ पुगेको जानकारी दिएका छन् भने घाइतेहरूको सङ्ख्या निरन्तर बढिरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
सबैभन्दा बढी प्रभावित ला गुआइरा राज्यका विभिन्न क्षेत्रमा उद्धारकर्मी र स्थानीय बासिन्दाहरू भग्नावशेष हटाएर जीवित मानिसको खोजीमा जुटेका छन् । धेरै स्थानमा पर्याप्त उपकरण र दक्ष जनशक्तिको अभाव देखिएको छ ।
ला गुआइराका अन्य क्षेत्रमा पनि भग्नावशेषभित्रबाट मानिसहरूको आवाज सुनिएको छ । स्थानीय बासिन्दा एन्टोनियो बर्मुडेजले आवश्यक उपकरण र उद्धार सामग्री नहुँदा असहाय बनेको छन् ।
यसबीच केही स्थानमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसलहरूमा लुटपाटसमेत भएको एएफपीका पत्रकारहरूले जनाएका छन् । भेनेजुएलाको अन्तर्राष्ट्रिय उद्धार समितिकी निर्देशक निकोल कास्टले अवस्थालाई अत्यन्त विनाशकारी बताए ।
भूकम्पपछि विश्वका विभिन्न देशहरूले सहयोगको प्रतिबद्धता जनाएका छन् । स्विट्जरल्यान्ड, स्पेन, फ्रान्स, पोर्चुगल र मेक्सिकोले विशेषज्ञ र उद्धार टोली पठाउने घोषणा गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले दुई युद्धपोत, यातायात विमान र हेलिकप्टर परिचालन गर्नुका साथै १५ करोड अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशको प्रतिक्रिया तीव्र, प्रभावकारी र व्यापक हुने बताएका छन् ।
चीन, भारत, ब्राजिल र युद्धग्रस्त इरानले पनि सहयोगको प्रस्ताव गरेका छन् । पोप लियो चौधौँले प्रारम्भिक एक लाख युरो सहायता घोषणा गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भेनेजुएलालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
भूकम्पको धक्का छिमेकी कोलम्बियासम्म महसुस गरिएको थियो । बोगोटाका बासिन्दाहरूले सावधानीस्वरूप भवनहरू खाली गरेका थिए । उत्तरी ब्राजिलका धेरै सहरहरूमा पनि कम्पन महसुस भएको त्यहाँको भूकम्पीय निगरानी निकायले जनाएको छ ।
राजधानी काराकासमा पनि त्रासको वातावरण फैलिएको छ । धेरै नागरिकले सडक र गाडीमै रात बिताएका छन् ।




प्रतिक्रिया