काठमाण्डु– पशुसेवा विभागले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।
काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले बताए । उनका अनुसार ३ महिना अघि सुरु भएको संक्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।
करिब १ सय कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन् । करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ । काठमाण्डु उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रका फार्ममा संक्रमण पुष्टि भएको छ ।
बर्डफ्लुका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस चाडो सर्ने हुने र कुखुरालगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ । संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गरे ।
विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्डफ्लु समन्वय समिति गठन गरिएको छ ।
नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिए ।




प्रतिक्रिया