काभ्रेपलाञ्चोक – स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो हप्तादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ ।
जिल्ला सुरक्षा समितिले सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णत: सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो ।
सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णत: प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालबाहक सवारीसाधनलाई बेलुका ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालकुमार अधिकारीले बताए ।
उनका अनुसार आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण प्रक्रियालाई केही ढिलाइ गर्न लगाइएको हो । समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालबाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने समेत जनाएको छ ।
तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको सीडीओ अधिकारीले जानकारी दिए । सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डु, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ ।
गत चैतमा करिब १ महिनाभर रातको समयमा पूर्णत: आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर २ दशमलव ५ किलोमिटर सडक कालोपत्र (डीबीएम–पीच) को काम गरिएको थियो ।




प्रतिक्रिया