काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमार्फत दिनुपर्ने जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको मञ्चबाट दिएको भन्दै आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै काँग्रेस सांसद् रेणुका काउछाले काँग्रेसहित विपक्षीले ‘नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन र सो अभिव्यक्ति फिर्ता लिन पटकपटक ध्यानाकर्षण गराउँदा पनि नसुनेका प्रधानमन्त्रीले पार्टीको मञ्चबाट जवाफ फर्काएको बताइन् ।
आफूहरुले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाएर नेपालको राष्ट्रिय हित, कुटनीतिक मर्यादा, र प्रधानमनत्रीको संस्थागत गरिमा जोगाउन विषय उठाउँदै आएको उनको भनाइ थियो ।
‘नेपाल–भारत सीमासँग सम्बन्धित अत्यन्त संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्रीले दिनुभएको विवादित अभिव्यक्तिपछि यो सम्मानित सदनमा प्रतिपक्षी दलहरुले पटकपटक स्पष्ट जवाफ मागिरहेका छन् । हाम्रो उद्देश्य प्रधानन्त्रीलाई अप्ठ्यारोमा पार्ने होइन । बरु संसदको रेकर्डमा रहेको विषय सच्याएर नेपालको राष्ट्रिय हित,कुटनीतिक मर्यादा र प्रधानमनत्रीको संस्थागत गरिमा जोगाउने हो । तर, दुर्भाग्यबस प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिने भन्दा आफ्नो पार्टीको महाधिवेनशको मञ्चबाट प्रतिक्रिया दिन रुचाउनुभएको देअिखन्छ’, काउछाले भनिन्, ‘ नेपालको प्रधानमन्त्रीले संसदभित्र वा बाहिर गर्ने प्रत्येक अभिव्यक्ति केबल व्यक्तिगत वा दलगत अभिव्यक्ति हुँदैन । त्यो नेपालको आधिकारिक राजनीतिक सन्देशका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा हेरिन्छ । त्यसैले प्रधानमन्त्री पदको गरिमा, अभिव्यक्तिको जिम्मेवारी र त्यसले पार्ने कुटनीतिक प्रभावबारे सरकार सधैं सचेत हुनुपर्छ ।’
६ असारमा चितवनको भरतपुरमा रास्वपा प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आफूले नेपाल–भारत सीमा समस्या समाधानमा तेश्रो पक्ष बेलायतको मध्यस्थता खोज्ने नभई जमिनको आधिकारिकताबारे सूचना माग्ने भनेको बताएका थिए ।
तर, नेपालले पनि भारतको सीमा मिचेको विषयमा भने उनी मौन रहे ।




प्रतिक्रिया