काँग्रेसको प्रश्नः विद्यार्थी संगठन खारेज गर्ने सरकारले कलिला बालबालिकालाई रास्वपाको झोला बोकाउन मिल्छ ?

काँग्रेसको प्रश्नः विद्यार्थी संगठन खारेज गर्ने सरकारले कलिला बालबालिकालाई रास्वपाको झोला बोकाउन मिल्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका हजारौं बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा काँग्रेस सांसद् रेणुका काउछाले सरकारको नेतृत्व गरिरहेको दलले संविधान, राजनीतिक दल र बालबालिकासम्बन्धी ऐनको प्रष्ठ व्यवस्थाविपरीत १८ वर्ष मुनिका बालबालिकालाई पार्टीको झोला बोकाएको भन्दै आपत्ति व्यक्त गरिन् ।

उनले बालबालिकाको मतबाट निर्वाचित रास्वपा पदाधिकारी र सदस्यको वैधतामा समेत प्रश्न गरिन् ।

संविधान र ऐनमा भएको बालबालिकालाई राजनीतिक दलमा संगठित गर्न नमिल्नेबारेको व्यवस्था रास्वपाले मान्नुपर्ने कि नपर्ने भन्ने उनको भनाइ थियो ।

‘रास्वपाको सदस्यमा १८ वर्ष मुनिका ३५ हजार २ सय ५७ जना हुनुहुँदोरहेछ । औपचारिक रुपमा घोषणा गरिएको यो सवालप्रति नेपाली काँग्रेसको ध्यान तानिएको छ । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा १८ वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन । यस्तो कार्य गरेमा ८० हजार रुपैयाँ जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरिएको छ’, काउछाले भनिन्, ‘के सत्तारुढ दलल रास्वपाको हकमा संविधान र यो ऐनमा भएका/गरिएका व्यवस्था आकर्षित नहुने हो र ? कि रास्वपा संविधानभन्दा माथि छ र ? उसले संविधान पालना नगरे पनि पनि हुने हो र ? त्यसमाथि बालबालिका ऐनसम्बन्धी ऐन–०७५ को दफा (७) मा कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाउने कानूनी प्रावधान रहेको छ । यो प्रष्ट कानूनी प्रावधानविपरीत गएर रास्वपाले १८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको पाइयो । यही बालबालिकाको मतको भ¥याङ् चढेर चुनिएका पार्टीका पदाधिकारी र सदस्यको वैधानिकतामा प्रश्न उठ्ने अवस्था देखियो । यो प्रष्ट प्रावधान रास्वपाको हकमा लागू हुने अवस्था छ कि छैन ?’


उनले आफूहरुले उठाएको सवाललाई प्रतिपक्षी पार्टीको धारणाका रुपमा नलिन भन्दै संविधान र ऐनमा गरिएको प्रष्ट व्यवस्था स्मरण गराएको उल्लेख गरिन् ।

विद्यार्थीहरुले राजनीति गर्न हुँदैन भन्दै स्ववियुसहित विभिन्न विद्यार्थीका संघ/संगठन खारेज गर्ने तयारी गरेको सरकारले बालबालिकालाई आफ्नो दलमा भने सदस्यताको लाममा उभ्याउन मिल्छ या मिल्दैन भन्ने प्रश्न उनको थियो ।

‘कलिला विद्यार्थीलाई आफ्नो पार्टीको झोला बोाउन मिल्छ या मिल्दैन ? यो विषयमा सभामुखमार्फत रास्वपाको ध्यानाकर्षण गराउँदै कानूनको पालनामा सबै सचेत र जिम्मेवार बनौं भन्ने आग्रह गर्छु’, उनले भनिन् ।