काठमाण्डु– एमालेले आफ्ना उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण तथा विपक्षीलाई तर्साउन र एमालेलाई बदनाम गर्न चालिएको षड्यन्त्रको संज्ञा दिएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद डा. पुष्प कँडेलले पौडेलको गिरफ्तारी गत चैतमा अध्यक्ष केपी ओलीलाई गरिएको पक्राउको दोश्रो संस्करण भएको टिप्पणी गरे ।
पौडेल निर्दोष रहेको जिकिर गर्दै तत्काल रिहा गर्न माग गरे ।
पौडेलका गत निर्वाचनका प्रतिस्पर्धी र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई चुनाव प्रचारमा गाडी उपलब्ध गराउने व्यवसायीको बयानका आधारमा पक्राउ गरिएको दाबी कँडेलको थियो ।
सम्पत्ति शुद्धीकरणको कसुरमा आफ्ना मानिसहरुलाई उन्मुक्ति दिएपछि दबाबमा परेको सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तिय शुद्धीकरण कार्यदललाई उच्च ओहोदाका मानिसलाई पनि समातेका छौं भन्ने देखाउन पौडेललाई पक्राउ गरेको आरोप उनले लगाए ।
‘हाम्रो पार्टीका उपाध्यक्ष र पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अभियोग लगाएर पक्राउ गरिएको छ । एक जना गत निर्वाचनमा उहाँका प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिको पोलका आधारमा समातिएको भन्ने समाचारहरु आएका छन्’, कँडेलले भने, ‘उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधी गिरफ्तारीको अर्को रुप हो । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी वित्तिय शुद्धीकरण कार्यदललाई हामीले उच्च ओहोदाका मानिसहरुलाई पनि समाएका छौं भनेर हिजो कतिपय त्यस्तै मुद्धाका अभियुक्तहरुलाई दिएको उन्मुक्तिको क्षतिपूर्र्ति गर्ने उद्धेश्यका लागि पनि यो धरपकड गरेको छ । यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरुलाई तर्साउन र नेकपा एमालेलाई बदनाम गर्ने उद्धेश्यले प्रेरित छ ।’
करका दरमा सूचना चुहाएर बिचौलियाहरुलाई लाभ दिने सरकारले जनताका सम्पत्ति छानबिन गर्ने तर, आफूलाई उक्त दायराभन्दा बाहिर राखेको आरोप लगाए ।
‘सरकार करका दरमा सूचना चुहाएर बिचौलियाहरुलाई लाभ दिन्छ, जनताका सम्पत्ति छानबिन गर्ने तर, आफूलाई उक्त दायराभन्दा बाहिर राख्छ । छानबिन आयोगलाई स्वतन्त्रता नदिएर प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्छ । छनौटपूर्ण प्रतिशोधका लागि हतियार बनाउँछ । तर, दोष अरुलाई देखाउँछ र काँक्रो आफू खाने र बियाँ अरुको गालामा लगाउने यो व्यवहार निन्दनीय छ । हामी उपाध्यक्ष र पूर्वअर्थमन्त्री विष्णु पौडेलको तुरुन्त रिहाइको माग गर्दछौं ।’




प्रतिक्रिया