काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले किसान मैत्री नीति नीति र कार्यक्रम अघि सार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय धान दिवसको शुभकामना दिँदै उनले कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै उनले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव रहेको बताए ।
यद्यपि रोपाइँको मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको प्रचण्डको भनाइ छ ।
‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो । हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ । तर, रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्’, प्रचण्डले लेखेका छन्, ‘त्यसैले, किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले धान दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाओस् भन्ने कामना गरे ।
किसानहरुलाई उनले सुख, समृद्धि र सफल खेतीपातीको शुभकामना पनि दिए ।




प्रतिक्रिया